वीरगञ्जका मेयर उम्मेदवार सरावगीमाथि आक्रमण प्रयासको एमालेले गर्यो निन्दा, जसपाको ‘गुण्डागर्दी’प्रति आपत्ति

नेकपा एमालेबाट वीरगञ्ज महानगरमा मेयरका उम्मेदवार विजयकुमार सरावगीमाथि भएको सांघातिक व्यवहारप्रति नेकपा एमाले पर्साले आपत्ति जनाएको छ ।
एमाले पर्साका इन्चार्ज प्रभु हजराले मंगलबार विज्ञप्ति जारी गर्दै सरावगीमाथि जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा गरेको आक्रमणको प्रयासको निन्दा गरेको छ ।


सोमबार राति वीरगञ्जको नगवामा घरदैलो सकेर फर्किनेक्रममा राजेशमानका कार्यकर्ताले सरावगीलाई दुव्र्यवहार गरेका थिए । ‘निर्वाचनमा उम्मेदवारले मतदातालाई सन्तुष्ट पारेर उनीहरूको मत आफूलाई हाल्न आग्रह गर्ने कुराको ग्यारेन्टी संविधानले गरेको छ । तर, सरावगीलाई राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा प्रदर्शन गरेको व्यवहारप्रति नेकपा एमाले पर्साको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेको विज्ञप्तिमा भनिएको छ ।
आउँदो ३० गते स्थानीय तहको निर्वाचन हँुदैछ । यो निर्वाचनमा राजनीतिक दलहरु मतदाताको घरमा गएर निर्वाध रुपमा मत माग्न पाउने संवैधानिक अधिकारलाई समेत कुण्ठित हुने हर्कत हुन थालेको विविध घटनाक्रमले देखाएको एमालेले उल्लेख गरेको छ । ‘यसले राज्य शान्तिपूर्ण रुपमा निर्वाचन गर्न चाहाँदैन भन्ने कुरालाई बल पु¥याएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारसँग गएका सहकर्मीलाई घेरा हालेर निर्घात रुपमा कुटपिट गरिएको एमालेले उल्लेख गरेको छ । एमालेका उम्मेदवार सरावगीलाई अवरोध सृजना गरी घन्टौंसम्म घेराबन्दीमा राखेको र प्रहरीले उद्धार गरेर ज्यान जोगाउनु परेको भन्दै एमालेले यस्तो भयपूर्ण अवस्थामा शान्तिपूर्ण रुपमा मताधिकार कसरी प्रयोग हुन्छ भन्ने कुराको प्रश्न उठको बताएको छ ।
राज्यको गैरजिम्मेवार र निकम्मापनका कारण सृजित यस्ता निषेधको राजनीति गर्ने पात्रहरुलाई कानूनी कारवाहीको दायरामा ल्याई अविलम्ब कारवाही गर्न एमाले माग गरेको छ ।
अराजक शैलीमा प्रस्तुत भएकाहरुले उन्मुक्ति पाउनु र त्यही वडाका नगर परिषद सदस्य सन्तोष गुप्तालाई प्रहरीले गैरकानूनी रुपमा गिरफ्तार गरी हिरासतमा राख्नुले सरकार पनि निष्पक्ष निर्वाचनको पक्षमा रहेकोमा एमालेले आशंका गरेको छ ।
‘नेकपा एमाले यो शालिनतापूर्ण आग्रहलाई बेवास्ता गरे त्यसबाट निस्किने सबै परिणामको जिम्मेवारी स्थानीय प्रशासनले लिनु पर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।