गठबन्धनप्रति जसपाको बेइमानी, घरदैलोमा कांग्रेस उम्मेदवारको फोटो किन निषेध ?

गठबन्धनको आवरणमा नेपाली कांग्रेसको बुई चढेर वीरगञ्ज महानगरको मेयरको कुर्सीमा उक्लिने दाउमा रहेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनप्रति कति बेइमान छ भन्ने उसको प्रचारप्रसारको शैलीले प्रष्ट पारेको विश्लेषण गर्न थालिएको छ ।
वीरगञ्जमा बलियो संठगन रहेको नेपाली कांग्रेसको भोटको भरमा मेयरमा राजेशमान सिंहलाई जिताएर उपमेयरमा कांग्रेसका उम्मेदवार इम्तियाज आलमलाई हराउने धोकाधडीअन्तर्गत जसपा अघि बढेको छ । जसपाले आयोजना गरेको घरदैलो कार्यक्रममा प्रयोग भएको ब्यानर र प्रचार सामग्रीमा गठबन्धनबाट उपमेयरका उम्मेदवारको फोटोसमेत नराखिएबाट जसपा कुन ग्रयाण्ड डिजाइनबाट अघि बढेको छ भन्ने स्पष्ट हुन्छ ।


वीरगञ्ज वडा नम्बर १ को घरदैलोमा प्रयोग भएको व्यानरमा मेयरका उम्मेदवार राजेशमानदेखि मुख्यन्त्री लालबाबु राउत, सांसद प्रदीप यादव र वडाध्यक्षसहित सदस्यहरुको फोटो राखिएको छ । तर, गठबन्धनमा कांग्रेसबाट उपमेयरका उम्मेदवारको फोटोले ठाउँ पाएको देखिँदैन ।
यस्ता कुनै पनि घरदैलोमा जसपाले आलमलाई सहभागीसमेत गराएको छैन । ‘मेयरमा गठबन्धनका नाममा कांग्रेसको भोट सोहोर्ने र घरदैलोमा जसपालाई मात्रै भोट माग्ने यो शैलीको उद्देश्यलाई कांग्रेसका कार्यकर्ताले बुझिसकेका छन्,’ कांग्रेसका एक नेताले भने ।
त्यस्तै वडा नं १३ मा भएको घरदैलोमा समेत इम्तियाजको सहभागिता र फोटोलाई बाईपास गरिएको छ । जसपा शीर्ष नेता उपेन्द्र यादवदेखि वडाका सदस्य उम्मेदवारसम्मको फोटो अटाएको ब्यानरमा उपमेयरका उम्मेदवारको फोटो राखिएको छैन । जुन घरदैलोमा राजेशमान आफैं सहभागी छन् ।
त्यस्तै वडा नम्बर १५ मा रमेशप्रसाद यादवको घरदैलोमा पनि इम्तियाज निषेधमा परेका छन् । यो वडामा प्रचारप्रसारमा प्रयोग भएको ब्यानरमा पनि उनको फोटो राख्नसमेत आवश्यक नठानिएकोप्रति कांग्रेसका कार्यकर्ताले असन्तोष व्यक्त गर्दै आएका छन् ।
जसपाले गठबन्धनको नाममा कांग्रेसबाट भोटको लाभ लिएर कांग्रेसका उम्मेदवारलाई भने हराउने बद्नियतपूर्ण तरिकाले अघि बढेकोप्रति कांग्रेसका आम कार्यकर्ताले आक्रोश व्यक्त गरे पनि गठबन्धनका नाममा आफ्ना कार्यकर्तालाई बन्धक बनाउन खोज्ने नेताहरु भने एक शब्द पनि बोल्न तयार नभएको कार्यकर्ताको बुझाइ छ । ‘कांग्रेसप्रति इमानदार कार्यकर्ताहरु जसपाको यो बेइमानी र कांग्रेसका नेताहरुको लाचारीविरुद्ध विद्रोहको मनस्थितिमा पुगेका छन्,’ एक कार्यकर्ताले भने ।