No Image Headlineअर्थमुख्य खबर

उर्जा संकटको सकस:विद्युत्को माग १६०० मेगावट उत्पादन ८०० मा झर्‍यो, कहिले हुन्छ समाधान ?

Thrill Factory
Rungta Group

नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता २ हजार मेगावाटभन्दा बढी छ । खोलामा पानी कम हुँदा अहिले ८०० मेगावाट हाराहारीमात्रै उत्पादन भइरहेको छ ।

यही बेला माग चाहिँ १ हजार ६०० मेगावाट छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यसकारण हिउँदमा खोलामा पानी घट्दा विद्युत् उत्पादन स्वतः कम हुन्छ । वर्षामा भने पूर्ण क्षमतामा उत्पादन हुन्छ ।

खोलामा पानीको मात्रा कम भएर स्वदेशी उत्पादन घटेपछि प्राधिकरणले भारतबाट बिजुली ल्याएर माग धानिरहेको थियो । पछिल्लो समय भारतमै विद्युत् उत्पादन घटेको छ ।

भारतमा कोइलाबाट उत्पादन हुने विद्युत्को अंश बढी छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय विश्वभर कोइला अभाव भएको छ । त्यसको असर भारतको विद्युत् उत्पादनमा परेको हो ।

भारतमै उत्पादन घटेपछि प्राधिकरणले त्यहाँबाट पर्याप्त मात्रामा बिजुली ल्याउन सकेको छैन । र, गत हप्तादेखि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ शुरू गरेको छ । अहिले प्राधिकरणले घरायसी ग्राहकलाई भने २४सै घण्टा बिजुली दिइरहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती भइरहेको छ ।

त्यसलाई कम गर्न प्राधिकरण प्रयत्नशील रहे पनि नजीतामूलक काम भएको छैन । लोडशेडिङ हुन थालेपछि औद्योगिक क्षेत्र मारमा परेको छ । इन्धन र बिजुली उद्योगलाई नभई नहुने चिज हुन् ।

अहिले पेट्रोल तथा डिजेल जस्ता इन्धनको मूल्य पनि आकाशिएको छ । यही बेला लोडशेडिङ हुन थालेपछि उद्योग सञ्चालन प्रभावित भएको व्यवसायी बताउँछन् । ऊर्जा अभावले उद्योगहरू घाटामा जाने र अन्ततः बन्दै हुने डर व्यवसायीलाई छ ।

उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने र वर्षा हुने समय पर्खिनुको विकल्प नभएको हो ।

यस हिसाबले चाँडोमा जेठ दोस्रो सातापछि मात्रै विद्युत् आपूर्ति सहज हुने देखिन्छ । हिमालको फेदको हिउँ चैत, वैशाखमै पग्लिसकेको छ । माथिल्लो भेगको हिउँ ढिलोमा जेठ दोस्रो सातादेखि पग्लिन थाल्छ । त्यसपछि खोला र नदीमा पानीको मात्रा बढ्छ । खोलामा पानी बढेपछि विद्युत् उत्पादन स्वतः बढ्छ । त्यही आधारमा जेठ दोस्रो सातापछि विद्युत् आपूर्ति सामान्य हुने नेपाल विद्युत् प्राधिकरणले बताइरहेको हो ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जेठ दोस्रो सातादेखि विद्युत् आपूर्ति सहज हुने बताए । जेठ दोस्रो सातादेखि हिउँ पग्लिन थाल्छ र खोलामा पानीको मात्रा पनि बढ्छ,’ उनले भने, त्यसपछि विद्युत् आपूर्तिमा हामी सहज अवस्थामा पुग्छौं र स्वदेशी उत्पादनले नै बजारको माग पूरा गर्न सक्छौं ।’

असारपछि वर्षा शुरू हुन्छ, त्यो बेला खोलामा पर्याप्त मात्रामा पानी हुन्छ । त्यसपछि बिजुली भारत निर्यात नै गर्न सकिने प्राधिकरणको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button