No Image Headlineदेशमुख्य खबरविशेष

वीरगञ्ज महानगरमा द्विपक्षीय भिडन्त, को बस्ला मेयरको कुर्सीमा ?

Thrill Factory
Rungta Group

मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जको नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । चोकचौराहाका चिया दोकानदेखि वीरगञ्जका धनाढ्यका गद्दीसम्म सम्भावित परिणामबारे हिसाबकिताब हुन थालेको छ ।

महानगरको मेयरमा अहिले मुख्यतः निवर्तमान मेयर विजयकुमार सरावगी, राजेशमान सिंह र पत्रकारसमेत रहेका गिरीश गिरीको नाम चर्चामा छ ।

गिरी वीरगञ्जको राजनीतिमा नयाँ अनुहार हो । उनी तत्कालीन राजा ज्ञानेन्द्रबाट मनोनित पूर्व नगरप्रमुख गोपाल गिरीका छोरा हुन् । मेयर मनोनित भएको ३ महीना पुग्दानपुग्दै माओवादीले गोपाल गिरीको हत्या गरेका थिए ।

गिरी आवद्ध राप्रपाको संगठन वीरगञ्जमा कमजोर मानिनु र अचानक चुनावी पर्दामा आएकाले मुख्य प्रतिस्पर्धा पुरानै खेलाडी सरावगी र राजेशमानबीच हुने देखिएको छ । २०७४ को चुनावमा राजेशमान मतका आधारमा तेस्रो स्थान पाएर सरावगीसित हारेका थिए ।

दुवै उम्मेदवारले यसपटक आआफ्नो जीत निश्चित भएको बताइरहेका छन् । आफू मेयर हुँदा थुप्रै विकास निर्माणका काम गरेको र वीरगञ्जलाई व्यवस्थित, सुन्दर र समृद्ध बनाउन अझै काम गर्न बाँकी रहेको अवस्थामा त्यसका लागि आफ्नो अनुभव अब्बल हुने दाबी सरावगीको छ ।

यता राजेशमान वीरगञ्जमा स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन विकासलगायतका मुद्दा लिएर चुनावी परिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् ।

यस्तो छ अंकगणित 

मेयरमा कसले जीत हात पार्ला त ? यसको अनुमान लगाउनुभन्दा पहिला विगत चुनावको मत परिणामलाई अहिलेको अवस्थासँग जोडेर विश्लेषण गर्नुपर्ने हुन्छ ।

वीरगञ्जमा अहिले एक लाख २४ हजार ६४७ मतदाता छन् । अघिल्लो चुनावमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए । त्यतिबेलाको राजपाबाट चुनाव लडेका राजेशमानले १२ हजार १६५ मत पाएका थिए ।

यसबीचमा भएको दलीय टुटफुट र उतारचढावमा यो भोटको संरचनामा निकै बदलाव आइसकेको छ । संघीय समाजवादीबाट मेयर बनेका सरावगी अहिले एमालेबाट चुनावी मैदानमा छन् ।

राजपाबाट जसपा हुँदै फेरि लोसपामा परिणत भएको पार्टीबाट एमाले छिरेका राजेशमान एमालेले सरावगीलाई भित्र्याएपछि जसपाबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।

मेयरको टीकट पाउने आशमा एमालेमा गएका उनी एमालेले सरावगीलाई ल्याएसँगै मेयरको टीकटको शर्त राखेर जसपामा हाम्फालेका हुन् ।

राजेशमानलाई जसपाका प्रदीप यादवको समर्थन छ । यादव यसअघि २०७४ को चुनावमा सरावगीको पक्षमा सक्रिय थिए ।

प्रदीपले त्यसबेलाको भोटको अंकगणित अहिले राजेशमानको पक्षमा पार्न सक्ने अनुमान गरिएको छ । तर, जसपाकै प्रभावशाली नेताहरू राजेशमानको उम्मेदवारीबाट असन्तुष्ट छन् ।

चुनावको मुखमा अन्य दल चाहार्दै हिँडेको व्यक्तिलाई भित्र्याएर टीकट दिएको भन्दै जसपामा असन्तोष देखिएको छ । सो दलको एक सशक्त समूहले राजेशमानलाई असहयोग गर्ने सम्भवना बलियो बनेको छ ।

पर्सा क्षेत्र नं. १ का सांसदसेमत रहेका प्रदीप यादवको रवैयाबाट रुष्ट पार्टीका नेता कार्यकर्ताहरूले पनि राजेशमानलाई सहयोग नगर्ने अड्कल गरिएको छ ।

अहिले राजेशमानसित गठबन्धनमा रहेका नेपाली कांग्रेसका अजय द्विवेदी अघिल्लो चुनावमा १७ हजार १९७ मत पाएर दोस्रो भएका थिए । यो मत राजेशमानका लागि निर्णायक हुने अपेक्षा जसपाको छ ।

शुरूदेखि नै गठबन्धनको विपक्षमा उभिएका कांग्रेसले राजेशमानलाई शत प्रतिशत सहयोग गर्ने सम्भावना न्यून छ । वीरगञ्जमा कांग्रेसको जीत निश्चित हुने आँकलनमा बसेका कांग्रेसी राजेशमानलाई मेयरको रुपमा स्वीकार गर्न सकिरहेका छैनन् । यसका उनको विवादास्पद छविले पनि काम गरेको छ ।

नगरमा जसपाको जीत भएमा त्यसको प्रभाव संघीय संसद र प्रदेशसभामा पनि पर्ने र त्यसबाट आफ्नो भाग खोसिने अनुमानमा कांग्रेसको प्रभावशाली तप्का जसरी भए पनि राजेशमानलाई रोक्ने रणनीतिमा देखिन्छ ।

गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रका रहबर अन्सारीले त्यसबेला ८ हजार ३०५ मत ल्याएर छैटौं स्थान बनाएका थिए । रहबरले पाएको भोटमध्ये अधिकांश मुस्लिम समुदायको सहानुभूति भोट थियो ।

त्यो जनमत राजेशमानको पक्षमा जाने सम्भवना निकै कम छ । माओवादी नगर समितिको विवादको असर पनि चुनावमा देखिने अनुमानलाई अस्वीकार गर्ने अवस्था छैन ।

यता एमालेभित्र पनि सरावगीलाई नरुचाउने समूह नभएको होइन । पार्टी विभाजनका कारण पनि एमालेको शक्ति केही कमजोर भएको विश्लेषण सुनिन्छ ।

२०७४ को चुनावमा ८ हजार ६८८ भोट ल्याएर पाँचौ स्थान बनाएर सरावगीसँगै पराजित नेशनल मेडिकल कलेजका सञ्चालन बसुरुद्धिन अन्सारी अहिले सरावगीको सारथीको रुपमा छन् । एमालेको स्थानीय तहदेखि केन्द्रसम्म राम्रो पकड जमाउन सिपालु उनले मुस्लिम समुदायको भोट प्रभावित पार्ने बलियो ल्याकत राख्दछन् ।

राजेशमानले पाएको मत तत्कालीन राजपाको हो । अहिले यो दल लोसपा बनेको छ । । चुनावको मुखमा दलबदलमा लिप्त भएको भन्दै उनीप्रति लोसपाभित्रका उनका शुभचिन्तकमा पनि चित्त दुखाई छ । लोसपा अहिले एमालेसित तालमेल गर्न पुगेको छ ।

लोसपाबाट पुरुषोत्तमलाल झा सरावगीको टीममा उपमेयरको उम्मेदवार छन् । वीरगञ्जको राजनीतिमा मास्टर माइन्ड मानिएका विमल श्रीवास्तव विजयको साथमा छन् । श्रीवास्तवले गत स्थानीय चुनावमा ८ हजार ७०१ मत ल्याएका थिए ।

सरावगी आफैं निवर्तमान मेयर हुनु र मतका आधारमा चौथो र पाँचौ स्थानमा रहेका तत्कालीन उम्मेदवार उनको साथमा हुनु बलियो आधार मान्न सकिन्छ । गठबन्धनभित्रको किचलो र असन्तोषको अंकगणित सरावगीको पोल्टामा जोडिने चर्चा धेरै हदसम्म सत्यनिकट देखिन्छ ।

कमल थापाको राप्रपा नेपालका प्रभावकाशाली नेता राजीव पराजुली र पूर्वमेयर प्रदीप सुवेदीको साथ पनि सरावगीलाई छ ।

सरावगीले साढे ४ वर्षसम्म मेयर पदमा रहेर काम सबै निर्णय सर्वसम्मतबाट गराएको आधारमा सबैजसो पूर्वजनप्रतिनिधिहरू र कर्मचारीतन्त्रको साथ उनलाई प्राप्त हुने अनुमान पनि गरिन थालेको छ । यी अंकगणित र अनुमानका बीच वीरगञ्ज महानगरको मेयरको कुर्सीमा को बस्ला ? यसको लागि त मत परिणामसम्म पर्खिनैपर्ने हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button