वीरगञ्जका उद्योगमा विद्युत छैन, उद्योगीले दिए आन्दोलनको चेतावनी

विद्युत प्राधिकरणले १२ देखि १६ घण्टासम्म विद्युत् कट्ने भने पनि विगत ४ दिनदेखि लाइन नदिएपछि वीरगञ्ज क्षेत्रका उद्योगी मारमा परेका छन् ।



४ वर्षअघि लोडसेडिङ अन्त्यको घोषणा गरेको प्राधिकरणले पुनः लोडसेडिङ शुरु गरेको भन्दै उद्योगी चिन्तित भएका छन् ।



औद्योगिक प्रतिष्ठानमा लाइन काटेपछि उत्पादन ठप्प भएको वीरगञ्जका उद्योगी सुरेश रुंगटाले बताए । वीरगञ्ज औद्योगि कोरिडोरमा ४ दिनदेखि लाइन छैन ।



नेपाल विद्युत प्राधिकरणले मंगलबारसम्म आपूर्ति आउन सक्ने, तर नियमित आपूर्तिका लागि केही महीना लाग्न सक्ने बताएको छ । नेपालमा पानीको सतह नबढेसम्म उर्जा अभाव हुने देखिएको छ ।
ग्रामीण फिडरबाट आपूर्ति लिएका उद्योगका आपूर्ति अवरुद्ध एको ३ दिनपछि शुक्रबार साँझ केही बेर आपूर्ति आएकोमा हावाहुरीका कारण त्यो पनि बन्द भएको रुंगटाले बताए ।
यो क्षेत्रमा भारतबात आयातित बिजुली आपूर्ति हुँदै आएकोमा उताबाट विद्युत् नभित्रिएपछि समस्या भएको हो । भारतबाट दैनिक ५०० मेगावाट विद्युत आउने गरेको थियो । अहिले भारत आफैं उर्जा संकटमा रहेकाले नेपाललाई विद्युत दिएको छैन ।
उता विना सूचना विद्युत काटेको भन्दै मंगलबारसम्ममा लोडसेडिङको तालीका नदिए आन्दोलन गर्ने चेतावनी विराटनगरका उद्योगीले दिएका छन् ।
उनीहरुले चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
औद्योगिक क्षेत्रमा १२ घण्टाभन्दा बढी विद्युत आपूर्ति अवरोध भएको उनीहरुले बताएका छन् । विना तालीका विद्युत काट्दा मजदुर कर्मचारी व्यवस्थापन, कच्चा पदार्थको सही उपयोगजस्ता पक्षमा नोक्सानी बढेको उनीहरुले बताएका छन् ।
विद्युतको न्यायोचित वितरण, स्वदेशी उत्पादनको क्षमता उपयोग, आपूर्ति नभएको बेलाको डिमान्ड शुल्क मिनाहाजस्ता माग पनि उनीहरुले अघि सारेका छन् ।