वैदेशिक रोजगारीमा जाने बढे, किन बढेन रेमिट्यान्स ?
चालू आर्थिक वर्षको ९ महीनामा वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या करीब ३०० प्रतिशत बढेको छ ।
वेदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको ९ महीनामा साढे चार लाख बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या १ लाख १५ हजार ६७१ मात्रै रहेको थियो ।
गत वर्ष कोभिड महामारीका कारण गरिएको बन्दाबन्दीले धेरै नेपालीहरू वैदेशिक रोजगारीमा जान पाएका थिएनन् ।
वैदेशिक रोजगार विभागले सर्वजनिक गरेको तथ्याङ्क अनुसार साउन देखि चैत महीनासम्म ४ लाख ६० हजार ४८६ जना नेपालीले वैदेशिक रोजगारीको लागी श्रम स्वीकृति लिएका छन् ।
चालू आर्थिक वर्षको साउन महीनामा २५ हजार ४२८ जना नेपाली विदेशिएका थिए भने भदौ महीनामा यो संख्या बढेर ३६ हजार ४० पुगेको थियो ।
त्यसैगरी, असोज महीनामा ३९ हजार ६७१ र कात्तिकमा ५४ हजार ९१८ पुगेको तथ्याङ्क छ । त्यस्तै, सबै भन्दा धेरै श्रम स्वीकृति मंसिर महिनामा ७४ हजार ३५४ जनाले लिएका थिए ।
पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७० र फागुनमा ५३ हजार ४५७ जनाले वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिएका थिए ।
चैत महीनामा मात्रै वैदेशिक रोजगारीको लागि जानेको संख्या ५५ हजार ५२३ पुगेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।
वैदेशिक रोजगारीमा प्रतिमहिना करिब २५ देखि ३० हजार नेपाली युवाहरू विदेशिने गरेकोमा चालू वर्षको केही महीना भने त्यसको दोब्बर भन्दा बढी युवाहरू विदेशिएका छन् ।
गत वर्ष सोहि अवधिमा वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या १ लाख १५ हजार ६७१ जना मात्रै रहेको थियो ।
गत वर्षको नौ महीनाको तुलनामा यो वर्ष विदेशिनेको संख्या २९८ प्रतिशतले बढेको छ ।
मलेसियाको रोजगारीमा समस्या आउँदा धेरै नेपालीको पहिलो रोजाइ साउदी अरब बनेको छ । यो वर्ष साउदी अरबमा मात्रै १ लाख ५४ हजार ९२१ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
त्यसैगरी दोस्रो रोजाइमा रहेको कतारमा ९ महीनाको अवधिमा १ लाख २९ हजार ९८५ जनाले श्रम स्वीकृती लिएका छन् ।
विभागको तथ्याङ्कमा गत वर्षको तुलनामा करीब ३०० प्रतिशत बढी नेपालीहरू वैदेशिक रोजगारीमा गएको देखिए पनि रेमिट्यान्स आय भने घट्दोक्रममा देखिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्याङ्कमा अहिले हरेक महीना ५ देखि ७ प्रतिशत कम रेमिट्यान्स भित्रिरहेको छ । फागुनको तथ्याङ्कमा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएपनि अन्य समयमा मासिक औषत ७७ अर्ब रुपैयाँ हाराहारी मात्रै रेमिट्यान्स आउने गरेको छ ।