नेपालमा अब कुनकुन सामान कहिलेसम्म आयात गर्न पाइँदैन ?

केन्द्रीय बैंकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको पृष्ठभूमिमा सरकारले विभिन्न विलासी वस्तुको आयातमा लगाएको पूर्ण रूपमा प्रतिबन्ध कार्यान्वयनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै प्रतिबन्ध कार्यान्वयनमा आएको अधिकारीहरूले बताएका छन्।


नेपाल राष्ट्र बैंकले केही समययता विभिन्न प्रतिबन्धात्मक कदम चाल्दै आएको छ। हालै राष्ट्र बैंकले गाडीलगायत कतिपय सामानको आयातका लागि प्रतीतपत्र जारी नगर्न बैंकहरूलाई मौखिक निर्देशन दिइएका विवरण सार्वजनिक भएका थिए।
राजपत्रमा प्रकाशित सूचनाअनुसार आउँदो असार मसान्तसम्म तोकिएका सामानहरू आयात गर्न पाइनेछैन।
पछिल्लो आयात प्रतिबन्ध सूचीमा परेका सामान यी हुन् :
तयारी मदिरा,
चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक),
हिरा (औद्योगिक कच्चा पदार्थबाहेक),
६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल फोन सेट,
कुरकुरे, लेज र त्यस्ता उत्पादन,
३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन,
जीप, कार र भ्यान ९एम्बुलेन्स र शववाहनबाहेक०,
२५० सीसी माथिका मोटरसाइकल,
सबै प्रकारका खेलौना र
खेल्ने तास।
यद्यपि प्रतिबन्ध लगाइएका सामानहरू नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैँले पैठारी गर्न पाउनेछन्।
साथै वैशाख १३ गतेभन्दा अगाडि बैबिङ माध्यमबाट आयात प्रक्रिया पूरा भइसकेको हकमा भने यो कुरा लागु नहुने मन्त्रालयले जनाएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार केन्द्रीय बैकसँग अहिले ६.७ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ।
खासगरी पछिल्ला नौ महिनामा नेपालले सवारीसाधन निर्यात गरेको रकम हेर्दा सरकारको कदमले विदेशी मुद्रा सञ्चितिमा सघाउ पुग्ने उनको विश्वास छ।
मासिक रूपमा १५ अर्बसम्मको सवारीसाधनको आयात भइरहेको थियो त्यसलाई यसले नियन्त्रण गर्छ नै, पछि पेट्रोलको माग पनि घटाउँछ । यी दुइटा कुराले अलिकति सहज चाहिँ बनाउँछ, प्रवक्ता भट्टले भने।
यसअघि नै ३०० भन्दा बढी बस्तुको आयातमा कडाइ गरिएको छ । नगद मार्जिनदेखि आयात प्रतिबन्धजस्ता उपाय अपनाइएको छ ।