यस्तो पनि

रुसी राजदूतले पुटिनसँग नबोलेको वर्षौं भयो !

रुसले गत २४ फ्रेब्रअरीमा युक्रेनमा आक्रमण गरेयता अमेरिकाका लागि रुसी राजदूतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक शब्द बोलेका छैनन् ।

वास्तवमा राजदूत अनातोली एन्तोनोभले प्रत्यक्ष रूपमा अन्तिमपटक सन् २०१७ मा पुटिनसँग कुराकानी गरेका थिए ।

सोमबार पोलिटिकोले जनाएअनुसार त्यतिबेला राजदूतको हैसियतले अमेरिका आउनुअघि उनको पुटिनसँग कुराकानी भएको थियो ।

किन पुटिनसँग सम्पर्क नहुने गरेको भनी सोधिएको प्रश्नको जवाफमा एन्तोनेभले पोलिटिकोलाई भनेका छन्, “मेरो प्रशस्तै मात्रामा क्रेमलिनका विभिन्न निकायका अन्य वरिष्ठ अधिकारीहरूसँग कुराकानी हुने गर्थ्यो ।

रुसको यस सम्बन्धमा छुट्टै तरिका छ । साथै यदि पुटिनसँग फोनवार्ता गरेकै भएपनि सबै कुरा अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईलाई सुन्ने मौका दिनुजस्तै मात्र हुन्थ्यो ।”

युक्रेन युद्ध सुरु भएयता एन्तोनोभले वासिङटनमा निकै एक्लो महसुस पनि गर्न थालेका छन् । तर अन्तर्वार्ताको क्रममा क्रेमलिनलाई पूर्ण रूपमा अनुसरण गर्दै एन्तोनोभले युक्रेनमाथिको आक्रमणलाई ‘विशेष सैनिक कारबाही’को संज्ञा दिएका छन् ।

साथै उनले युक्रेनसँग एउटा सार्वभौम मुलुकको हैसियतमा रहने अधिकार पनि भएको तर भविष्यमा स्थिति के होला थाहा नभएको पनि बताएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button