No Image Headlineमुख्य खबर

भारतमा फेरि बढ्दै कोरोना संक्रमण : नेपालमा चुनावी भिडभाड बढ्दै, प्रतिकार्य फिलतो

भारतमा कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेसँगै नेपालका यसको कस्तो असर पर्ला र प्रतिकार्यको योजनाबारे चासो बढेको छ ।

भारतमा कोरोना बढ्दै गर्दा नेपालमा आसन्न स्थानीय चुनावका गतिबिधिबीच संक्रमण ह्वात्तै बढ्ने हो कि भन्ने आशंका पनि सघन बन्दै गएको छ ।

भारतमा कोरोना संक्रमण बढेको विषयलाई नजिकबाट नियालिरहेको र नेपाललाई सम्भावित जोखिमबाट जोगाउनका लागि प्रतिकार्य योजना तयार पार्न गृहकार्य थालिएको अधिकारीहरूले बताएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा थप २,१८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। उक्त अवधिमा थप २१४ जनाको कोभिड १९का कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ।

पछिल्लो २४ घण्टामा भारतमा २६१,४४० कोभिड परीक्षण गरिएको प्रेस इन्फरमेसन ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क छ।

भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११,५४२ छ। त्यहाँ साप्ताहिक रूपमा कोभिड पुष्टि हुने दर ०.३२ प्रतिशत रहेको छ भने दैनिक रूपमा सङ्क्रमण पुष्टि हुने दर ०.८३ प्रतिशत छ।

गत जनवरीमा उच्च विन्दुमा पुगेको कोभिड सङ्क्रमण दर निरन्तर ओरालो लाग्ने क्रममा थियो। तर पछिल्लो तथ्याङ्कले भने त्यसमा केही परिवर्तन आउन लागेको सङ्केत गरेको जनाइएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा ५१७ सङ्क्रमित थपिनु र उत्तर प्रदेशमा पनि केही वृद्धि देखिनु नेपालका लागि महत्त्वपूर्ण सूचक रहेको विज्ञहरू बताउँछन्।

नेपालको तथ्याङ्क के छ ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार गत हप्ता कोभिडको दोस्रो लहरपश्चात् पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा कममा झरेको थियो ।

त्यस्तै खोप अभियान सुरु भएपश्चात् नेपालमा चार करोड छ लाखभन्दा बढी मात्रा खोप लगाइएको सरकारी तथ्याङ्कले देखाउँछ। लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले कम्तीमा एक मात्रा लगाएको र ८२.२ प्रतिशतले पूर्ण मात्रा लगाएको बताइएको छ।

तयारी के छ ?
नेपालमा देखा परेका तीन वटै लहर भारतमा नयाँ लहर सुरु भएको केही साता पछि सुरु भएको अधिकारीहरू बताउँछन्।

पछिल्लो समय कोभिडको तेस्रो लहर सुस्ताएसँगै देशैभर कडा प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ र सार्वजनिक स्थलहरूमा भिडभाड बढेको छ।

तर स्वास्थ्य मन्त्रालयले सङ्क्रमण दर घटेको भए पनि जोखिम कम नभएको बताउँदै आएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी छिमेकी मुलुकहरूमा सङ्क्रमण बढ्दै जानुको अर्थ नेपालका लागि पनि ठूलो चेतावनी रहेको बताउँछन्।

हामीले लिनुपर्ने सावधानीहरू, विगतको सिकाइ, सँगसँगै सङ्क्रमणको प्रकृति पनि हेरेर निगरानी बढाउने कुराहरू, खोप लगाउने बाँकी मानिसहरूलाई सकेसम्म चाँडो खोप लगाउन तर्फ केन्द्रित रहेर र जनस्वास्थ्यका मापदण्ड पालना गराउने हिसाबले सबैलाई सुसूचित गर्ने विषयमा र विशेषतः नाकाहरूबाट आउने मानिसहरूको निगरानी र त्यसै भित्रको जनस्वास्थ्यको मापदण्डको निगरानी र सङ्क्रमणको निगरानी गर्ने कुराहरूमा चनाखो भएर काम गर्नुपर्ने छ भन्ने कुरा पछिल्लो भारतको तथ्याङ्कले झकझक्याएको छ।

कोभिडको तेस्रो लहर सुस्ताएको अवस्थामा नेपाल भारतबीच आवागमनको अवस्था पनि महामारी अघिकै अवस्थामा पुग्ने क्रममा छ।

नेपालबाट विभिन्न प्रयोजनका लागि भारत जाने र भारतबाट नेपाल आउनेहरूको सङ्ख्यामा व्यापक वृद्धि देखिन थालेको अधिकारीहरू बताउँछन्।

यस्तो अवस्थामा विभिन्न नाकाहरूमा विगतमा स्थापना गरिएका हेल्थ डेस्क, त्यहाँ राखिएका स्वास्थ्यकर्मीहरू सबै पूर्ण रूपमा फेरि पनि सञ्चालनमा ल्याउने गरी आवश्यक समन्वय गरिरहेको अधिकारी बताउँछन्। त्यसबाहेक परीक्षणको दायरा पनि बढाउनुपर्ने देखिएको सरकारी भनाइ छ।

होल्डिङ सेन्टरहरू व्यवस्थापन गर्दै सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सहज हुने गरी हामीले काम गर्नुपर्ने छ। नेपालमा भएकै भेरिअन्टको जोखिम बढ्नसक्ने भन्दा पनि नयाँ भेरिअन्ट देखिनसक्ने सम्भावना रहेको अधिकारी ठान्छन्।

त्यसै कारण अर्को लहरतर्फ सङ्क्रमण उन्मुख भइसकेको हो होइन भन्न सकिने अवस्था नरहे पनि केही समय सम्बन्धित देशहरूमा भएको सङ्क्रमणलाई नजिकबाट निगरानी गरेर त्यसको आधारमा आवश्यक तयारी गर्नुपर्ने उनीहरुको को भनाइ छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button