युक्रेनमा रुसले थाल्यो दोस्रो चरणको युद्ध

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्।
टेलिभिजनमार्फत् एउटा सम्बोधन गर्दै उनले डोन्बासका लागि युद्ध शुरू भएको बताएका हुन्। रुसले आक्रमणहरू तीव्र पारिरहेका विवरणबीच युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ आएको हो।
डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन्।
रुसले जतिसुकै सेना ल्याए पनि केही छैन, हामी लडिरहनेछौँ। हामी आफ्नो प्रतिरक्षा गर्छौँ, उनले भनेका छन्।
डोन्बास क्षेत्रको एउटा हिस्साको रूपमा रहेको लुहान्स्कका गभर्नरले केही शहरहरूमा लगातार भइरहेका आक्रमणबीच स्थिति नर्कजस्तै भएको बताएका छन्।
जेलेन्स्कीका प्रमुख सहयोगीले डोन्बासमाथि थालिएको आक्रमणले दोस्रो चरणको युद्धको शुरूवात गरेको बताएका छन्।
यसअघि युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिवले डोन्बास, लुहान्स्क र खार्किभ क्षेत्रका लगभग सबै अग्रपङ्क्तिलाई तोड्न रुसी फौजले प्रयत्न गरेको बताएका थिए।



