वीरगञ्ज महानगरको चुनावी अंकगणित, त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी ?

मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जमा मेयर पदमा मुख्यतः त्रिपक्षीय भिडन्त हुने देखिएको छ । २०७४ सालको स्थानीय चुनावमा प्राप्त मत र दृष्यमा देखिएका सम्भावित उम्मेदवारका आधारमा यस्तो आँकलन गरिएको हो ।
तत्कालिन तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर मेयरमा जितेका विजयकुमार सरावगी अहिले नेकपा एमालेबाट चुनाव लड्ने पक्कापक्की भएको छ । उनी जनता समाजवादी पार्टी (जसपा) नेपाल छोडेर त्यागेर एमालेमा प्रवेश गरिसकेका छन् ।


एमाले महानगर कमिटीले मेयरको उम्मेदवारको रुपमा उनको नाम सिफारिश गरिसकेको छ। यता एमालेबाट मेयरको टीकट पाउने प्रचारबाजीसहित एमाले छिरेका राजेशमान सिंह सो दलमा सरावगीको प्रवेशसँगै जसपामा हाम्फालेका छन् । उनलाई जसपाले मेयरको उम्मेदवारको रुपमा अघि सार्ने सम्भावना बलियो देखिएको छ ।
अघिल्लो चुनावमा तत्कालीन समाजवादी फोरमसित झिनो मतान्तरले हारेको नेपाली कांग्रेसको अवस्था यस पटक बलियो भएको आँकलन गरिए पनि प्रत्यासी धेरै हुनु र गठबन्धनको अन्योलका कारण को उम्मेदवार हुने भन्ने टुंगो लागेको छैन ।
पाँच दलीय सत्ता गठबन्धनबीच तालमेलको कारण वीरगञ्जमा कांग्रेसले जसपालाई समर्थन गर्ने अनुमान गरिँदैछ । तर, कांग्रेसको स्थानीय नेतृत्व तालमेलको पक्षमा छैन । कांग्रेसको अवस्था बलियो भएकाले अन्य पदमा छोडे पनि मेयरमा अरुलाई स्वीकार गर्न नसकिने पक्षमा देखिएको छ ।
कांग्रेसका पर्सा सभापति जर्नादनसिंह क्षेत्रीले केन्द्रलाई गठबन्धन नगर्न सुझाव पठाएको बताए। वीरगञ्जमा यतिबेला कांग्रेसको जित्ने सम्भावना बढी भएकाले तालमेलका नामा जनाधार कम भएका अन्य दललाई बोक्न नसकिने कांग्रेस नेता कार्यकर्ताको अडान छ ।
गत निर्वाचनमा तत्कालीन समाजवादी फोरमका सरावगीले १९ हजार ३९३ मत लिएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएका थिए। उपमेयरमा निर्वाचित कांग्रेसकी शान्ति कार्कीले मेयरकोभन्दा बढी मत पाएकी थिइन्। उनले १९ हजार ६०७ मत प्राप्त गरेकी थिइन्।
जसपाले मेयरसहित १२ वडाध्यक्ष रकांग्रेसले उपमेयरसहित १० वडाध्यक्ष जितेको थियो। अन्तरघातको पर्याय बनेको पर्सा कांग्रेसमा त्यतिबेला पनि अन्तरघातका कारण मेयर पराजित भएको बुझ्नेहरुका कमी छैन ।
अहिले नेकपा र मधेसकेन्द्रित दलमा आएको टुटफुट र संगठन थप सुदृढ भएकाले जित आफ्नो पक्षमा निस्किनेमा कांग्रेस विश्वस्त छ । कांग्रेसबाट अहिले मुख्य रुपमा राजेन्द्रबहादुर अमात्य, अजयकुमार द्विवेदी र प्रकाशकुमार उपाध्यायको नाम चर्चामा छ ।
कांग्रेमा संस्थापनइतर पक्षमा लागेका अमात्य र द्विवेदीमध्ये एक जनालाई मेयरमा लडाएर पार्टीभित्रको सन्तुलन मिलाउने गणित पनि तयार भइरहेको छ । कांग्रेस जिल्ला र प्रदेश नेतृत्व सभापति देउवानिकटमा मानिन्छन् ।
अमात्य र द्विवेदी दुवैजना विगतमा मेयरको चुनावमा पराजय भोगिसकेका र पार्टीमा बारम्बार अवसर पाइसकेका नेता भएकाले यस पटक कांग्रेसमा नयाँ अनुहारलाई अघि सारिनुपर्ने मत बलियो हुँदै गएको बताइएको छ । कांग्रेसमा लामो समयदेखि सक्रिय रहेर पनि अवसर नपाएका उपाध्यायलाई मेयरका नयाँ अनुहारको रुपमा देखिएको छ । उनले चुनावलक्षित कार्यकर्ता भेटघाट र अन्तरक्रियालाई तीव्र पारेका छन् ।
वीरगञ्जको सापेक्ष विकास र सुशासनलाई उनले आफ्नो मुख्य उद्देश्य बताउने गरेका छन् । यता एमालले वीरगञ्जमा जित हासिल गर्न तालमेलको प्रयास गरिरहेको छ । एमालेबाट मेयरको रुपमा अघि सारिएका सरावगीले लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपा नेपालसँग चुनावी तालमेलको गृहकार्य भइरहेको बताए ।
अघिल्लो स्थानीय चुनावमा तत्कालीन लोकतान्त्रिक फोरमबाट आठ हजार ७०१ मत पाएर पराजित भएका विमल श्रीवास्तवको सहयोग लिने रणनीति एमालेको छ ।
विगतमा आफूले चुनाव जितेर विकास निर्माणमा राम्रो काम गरेको र जनताले विकास चाहेकाले आफ्नो जित निश्चित भएको सरावगीको भनाइ छ । वीरगञ्जका बासिन्दा विकासको पक्षमा छन् । त्यसैले मलाई नै जिताउँछन्, उनको विश्वास छ ।
जसपाबाट उम्मेदवारको रुपमा प्रचार गरिएका राजेशमान सिंह पनि जित आफ्नै पक्षमा आउने बताउन थालेका छन् । गच चुनावमा तत्कालीन राजपा नेपालका उम्मेदवार रहेका सिंहले १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए ।
यस पटक उनले मेयर सरावगीमाथि भ्रष्टाचारको आरोपलाई नै मुख्य मुद्दा बनाउने देखिएको छ । वीरगञ्जको विकास निर्माणका बारेमा खासै नबोल्ने उनी आफूले जितेमा सरावगीलाई भ्रष्टाचारको मुद्दामा जेल हाल्ने कुरालाई जोडतोडले उठाइरहेका छन् ।
लोसपाबाट मेयरमा पुरुषोत्तमलाल झा र उपमेयरमा रम्भा मिश्रको नाम चर्चामा भए पनि तालमेलको पखाईमा छ । यतिबेला वीरगञ्जमा लोसपा कमजोर देखिएको छ । यता माओवादी आपसी द्धन्द्धमा रुमलिएको छ । अघिल्लो चुनावमा मेयरको उम्मेदवार रहेका रहबर अन्सारीलाई माओवादी जिल्ला कमिटीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ।
वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता छन्। गत चुनावको मत र परिदृष्यमा देखिएको जोडघटाउले कांग्रेस, एमाले र जसपाबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।