वीरगञ्ज भन्सारबाट गाडी आयात ठप्प, उपभोग्य मालसामान पनि घट्यो
सरकारले गाडी आयातमा गरेको कडाइको असर वीरगञ्ज भन्सारमा देखिन थालेको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट एक सातायता एउटै गाडी आयात भएको छैन ।
‘भन्सारको यार्ड र रक्सौलमा करीब १ हजार नयाँ गाडी थन्किएका छन् । तर, एक हप्तायता कुनै आयातकर्ताले जाँचपास गराएका छैनन्,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भने ।
वीरगञ्ज सवारीसाधन आयात हुने मुख्य नाका हो । नेपाल राष्ट्र बैंकले विलासी वस्तु आयातमा गरेको कडाइ र बैंकमा लगानीयोग्य रकम अभावका कारण गाडीको जाँचपास रोकिएको भन्सार अधिकारी बताउँछन् ।
भन्सार यार्डमा आइसकेका गाडीसमेत जाँचपास गराएका छैनन् । बैंकले गाडीमा कर्जा दिन छाडेका छन् । माग नै नआएपछि आयातकर्ताले भन्सारको यार्ड र भारतीय सीमावर्ती शहर रक्सौलका गोदाममा गाडी थन्क्याएर राखेका छन् ।
आयात उच्च दरले बढिरहेका बेला विप्रेषण घटेपछि सरकारले आयातमा कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब भएको भन्दै त्यसको असर न्यूनीकरण गर्न आयात घटाउने नीति लिएको हो ।
सरकारले विलासी वस्तुको आयात घटाउने भने पनि बैंकहरूले अन्य वस्तुका लागि समेत एलसी खोल्न छोडेका छन् । यसले व्यापारमा अन्योल बढाएको व्यवसायी राजेश क्याल बताउँछन् ।
वीरगञ्ज नाकाबाट विलासीबाहेकका वस्तुको आयात पनि उल्लेख्य परिमाणमा घटेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।
आयात घटेसँगै वीरगञ्ज भन्सारको राजस्व पनि प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को चैतको राजस्व लक्ष्य पूरा नहुने देखिएको पौडेलले बताए । आर्थिक अभियानसित