फोर्ब्सले डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । डलर अर्बपतिहरूको पहिलो नम्बरमा एलन मक्स परेका छन् ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी हुन् । उनको सम्पत्ति बढेर १९२९ औँ नम्बरमा परेका छन् । चौधरीको कुल सम्पत्ति डेढ अर्ब डलर रहेको फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
फोर्ब्सका अनुसार चौधरीको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको भनिएको छ । सिजी फुड्स अन्तर्गत वाइवाइ चाउचाउको उत्पादन नेपाल, भारत, सर्बिया र बंगलादेशमा पनि हुने उल्लेख गरिएको छ । इजिप्टमा भने नयाँ निर्माण भइरहेको जनाएको छ।
चौधरीको सिजी होटलमा पनि लगानी रहेको बताइएको छ । उनको भारतको ताज होटल चेनमा समेत उनको लगानी छ ।
चौधरीको सन् २०१३ मा एक बिलियन डलर सम्पत्ति थियो । उक्त सम्पत्ति बढेर सन् २०१४ मा १.१ बिलियन डलर पुग्यो । त्यस्तै २०१५ मा १.३ बिलियन डलर पुग्यो । तर २०१६ मा घटेर पुन १.१ बिलियन डलरमा झरेका थिए ।
सन् २०१७ मा भने चौधरीको सम्पत्ति १.३ बिलियन डलर नै पुग्यो । त्यसैगरी सन् २०१८ मा १.५ बिलियन डलर पुगेको थियो । २०१९ मा १.७ बिलियन डलर पुग्यो ।
कोभिड-१९ का कारण सन् २०२० मा भने चौधरीको सम्पत्ति १.४ बिलियन डलरमा झरेको थियो । यो समयमा नेपालमा मात्र नभई विश्व नै कोभिडका कारण धर्मराएको थियो । त्यस्तै सन् २०२१ चौधरीको सम्पत्ति १.५ बिलियन डलर पुगेको छ ।