अर्थ

बढ्दो परनिर्भरता : ८ महीनामा साढे ११ अर्बको तरकारी आयात

नेपालमा चालू आर्थिक वर्षको आठ महीनामा विश्वका चार ओटा देशबाट तरकारीको आयात आकाशिएको छ ।

आर्थिक वर्ष २०७७/ ७८ को (फागुन) मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्यबराबर आलु, प्याज र गोलभेंडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो ।

झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुकभन्दा आफैंमा लाजमर्दो विषय बन्दै गएको छ ।

सबैभन्दा धेरै आलु भारतबाट ६ अर्ब ५६ करोड ४६ लाख ४३ हजार र बङ्गलादेशबाट २४ करोड ८१ लख ५९ हजार रुपैयाँ गरी कुल ६ अर्ब ८१ करोड २८ लाख २ हजार मूल्य बराबर–भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट १ करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।

सोही अवधिमा ४ अर्ब ३० करोड ५४ लाख ३९ हजार मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ । भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको हो ।

त्यसैगरी यसै अवधिमा ४१ करोड १३ लाख ५६ हजार रुपैयाँको गोलभेडा आयात भएको छ । भारतबाट ४१ करोड १३ लाख ४५ हजार र इन्डोनेशियाबाट ११ हजार मूल्यका गोलभेडा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

सो अवधिमा भारतबाट ३ करोड ८० लाख ४ हजार ३३९ किलो र इन्डोनेशियाबाट ६२५ किलो गोलभेडा आयात भएको छ । इन्डोनेशियाको गोलभेडा सलादका लागि आयात भएको हो । तीन थरि तरकारीको आयातलाई तथ्याङ्कका रूपमा केलाउँदा गोलभेडाको उत्पादनमा भने प्रगति हुँदै गएको देखिन्छ ।

यहाँ आलु, प्याज र गोलभेडा खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा आलु, प्याज र गोलभेडाको परनिर्भरता चुलिदै गएको देखिन्छ ।

नेपाल सरकारले आगामी दुई वर्षमा नेपाललाई तरकारी बालीमा आत्मानिर्भर बनाउने घोषणा गरेको भए पनि प्रतिफल न्यून देखिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी दुई वर्ष अर्थात् आव २०७७/ ७८ बाट प्रमुख तरकारी बालीमा नेपाल पूर्णआत्मनिर्भर हुने घोषणा भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७४/ ७५ बाट शुरु भएको हो । परियोजना आव २०८२/८३ सम्म सञ्चालनमा रहने परियोजना व्यवस्थापन एकाइले बताएको छ ।

नेपालका सबै जिल्लामा आलुखेती गरिन्छ । आलुखेती हुन थालेको २०० देखि २५० वर्षको इतिहास छ । आव २०७६/ ७७ को सरकारी तथ्याङ्कानुसार १ लाख ८८ हजार हेक्टर क्षेत्रफलमा आलुखेती भई वार्षिक ३१ लाख ३१ हजार ८३० मेट्रिक टन आलु उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।

यसै आवको आठ महीनामा भारत र बङ्गलादेशबाट २ लाख ७२ हजार ७७१ मेट्रिक टन आलु आयात भएपछि नेपालीका लागि कुल ३४ लाख ४ हजार ६०१ मेट्रिक टन आलु आवश्यक पर्दछ ।

प्याजखेतीमा नाफा नदेखेर किसान आकर्षित हुनसकेका छैनन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कानुसार आव २०७६/ ७७ मा लगभग ३ लाख मेट्रिक टन प्याज उत्पादन भएको तथ्याङ्क छ ।

चालू आवको आठ महीनामा भारत र चीनबाट १ लाख १५ हजार ६०६ मेट्रिक टन प्याज आयात भएको हो । नेपालीका लागि उत्पादन र आयातलाई हेर्दा झण्डै ४ लाख १५ हजार ६०६ मेट्रिक टन प्याजको आवश्यकता पर्ने देखिन्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button