आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति, व्यवसायीको आन्दोलन फिर्ता

आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति भएको छ।
सहमतिपछि व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर पेट्रोलियम कारोबार पूर्ववत रुपमा संचालन गर्ने भएका छन्।


कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले तत्काल समस्या समाधान गर्न निर्देशन दिएपछि शनिबार साँझ टेकुमा रहेको निगमको कार्यालयमा व्यवसायीसँग वार्ता भएको थियो।
खाँणले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेश पाण्डेलाई समस्या समाधान गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि निगमको कार्यालय टेकुमा साँझ ५ बजे वार्ता भएको थियो।
पेट्रोलियम व्यवसायीको कमिसन र ग्यास ढुवानी भाडा समायोजनमा ७ दिनभित्रै समाधान गर्ने उल्लेख छ।
त्यो वार्ता अघि नेपाल पेट्रोलियम समन्वय समितिको शनिबार विहान बैठक बसेको थियो। त्यो बैठकमा आपूर्ति असहज हुँदा सरकार आलोचित हुने भन्दै हड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको थियो। विगतमा पेट्रोलियम व्यवसायीले आफ्नो माग पूरा नभएसम्म कारोबारनै ठप्प पार्ने गरेका थिए।
अहिले पेट्रोलियम व्यवसायीको छाता संगठनमा नेपाली कांग्रेस निकट व्यवसायी छन्। नेपाल ग्यास उद्योग संघका अध्यक्ष कुश मल्ली गृहमन्त्री खाँणका व्यवसायिक साझेदारनै हुन्।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान प्रकाशमान सिंह निकट छन् भने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरा प्रधानमन्त्री शेरबहादुर देउवा निकट व्यवसायी हुन्।
मल्ली, प्रधान र बोहोरा कांग्रेसका सक्रिय सदस्य समेत हुन्। कांग्रेस निकट भएकै कारण हड्तालका कार्यक्रम अघि बढाउन नैतिक रुपमा असहज भएको हो। उनीहरुले सुरुवातमा ग्यासको पीडीओ उठाउन बन्द गरेका थिए।
यी तीनै संस्थाले आइतबारदेखि भने ग्यास र पेट्रोलियम पदार्थको बिक्री वितरण समेत बन्द गर्ने भनेका थिए।