कङ्गोमा शान्ति सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना हुँदा ८ शान्ति सेना मारिएका छन् ।
कङ्गोको पूर्वमा पर्ने उत्तरी किभु प्रान्तमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका सैनिक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।


हेलिकोप्टरमा ८ जना सवार रहेको र दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको बताइएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा ६ जना पाकिस्तानी एक सर्बियाली र एक रुसी नागरिक रहेको कङ्गोमा तैनाथ शान्ति मिसन मोनुस्कोले जानकारी दिएको छ ।
उद्धारकर्ताहरुले मृतकको शवलाई उक्त प्रान्तको राजधानी गोमा शहरमा ल्याइपुर्याएको सीएनएनले जनाएको छ ।
संयुक्त राष्ट्रसंघस्थित पाकिस्तानी प्रतिनिधिको कार्यालयले दुर्घटनामा मारिएका आफ्ना सैनिकको पहिचान गरिएको र उनीहरुका आफन्तलाई पनि दुर्घटनाबारे जानकारी गराइएको जनाएको छ ।
पूर्वी कङ्गोमा मार्च २३ आन्दोलन (एम २३) नामक विद्रोही समूहले हिंसा मच्चाउँदै आएको छ । छिमेकी मुलुकहरु रुवाण्डा र युगाण्डाले यो समूहलाई सहयोग गर्ने गरेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोले आरोप लगाउने गरेको छ ।
सोही द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तैनाथ छ । यता कङ्गोको सेनाले भने एम २३ विद्रोहीले संयुक्त राष्ट्रसंघको हेलिकोप्टर खसालेको आरोप लगाएको छ ।
यद्यपि हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ ।