अब गुड्ने भयो जनकपुर-जयनगर रेल, नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार उद्घाटन गर्दै

लामो समयसम्म त्रिपाल ओढाएर राखिएको जनकपुर जयनगर रेल आउँदो शनिबार उद्घाटन हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबाट रेलको उद्घाटन हुने कार्यक्रम तय भएको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले बताए ।


उद्घाटनपछि रेल यात्रुसहित गुड्ने भएको छ । भारतबाट २०७७ असोजमा १ अर्ब रुपैयाँमा किनेर ल्याइएका २ थान रेल यो रेल अहिलेसम्म सञ्चालनमा आउन सकेका थिएनन् ।
रेल भित्रिँदा निकै तामझामका साथ प्रचारबाजी गरिए पनि कर्मचारी र कानून अभावमा रेल थन्क्याएर राखिएको थियो । त्रिपालले छोपेर राखिएको रेलमा पार्टपुर्जामा खिया लाग्न थालेपछि गत फागुनदेखि यात्रुविनै दिनको एक पटक रेल गुडाउन थालिएको थियो ।
तर, इन्धनको खर्च धान्न नसकेर केही दिनदेखि एक दिन बिराएर चलाइएको छ । हालै सरकारले अध्यादेशबाट कानूनी गाँठो फुकाएको छ । रेल सञ्चालनका लागि भारतबाट २६ जना कर्मचारी आएका छन् भने नेपाली कर्मचारी ५६ जना रहेका छन् ।
रेलमा करीब २ हजार ६०० यात्रुले एकैपटक यात्रा गर्न सक्छन् । सामान्य सिटका लागि प्रतियात्रु ९० र एसी भएकोमा ४५० रुपैयाँ भाडा तोकिएको छ ।