अन्तराष्ट्रिययस्तो पनि

क्षेप्यास्त्र परीक्षणको भिडिओमा उत्तर कोरियाली सर्वोच्च नेता किमको हलीवुड शैली !

उत्तर कोरियाले आफूले दाबी गरे जस्तै अहिलेसम्मकै ठूलो भनिएको अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको र विश्वको ध्यानाकर्षित गरेको हुनसक्छ। तर त्यसबारे उत्तर कोरियाली सरकारी टीभीमा प्रसारित समाचारको शैलीले धेरै जनालाई छक्क पारिदएको छ।

विजयी तर गम्भीर भावमा प्रस्तुत गर्ने विगतको शैलीभन्दा भिन्न यसपालि सरकारी प्रसारकले उत्तर कोरियाली नेतालाई हलीवुड चलचित्रको शैलीमा प्रस्तुत गर्‍यो।

त्यसको प्रस्तुति पनि मिल्ने खालको थियो – छालाको ज्याकेट र कालो चस्मा लगाएका किम जङ-अनलाई भिडिओ इफेक्ट र नाटकीय सङ्गीतसहित प्रस्तुत गरिएको थियो।

उत्तर कोरियाली सेन्ट्रल टेलिभिजनले बारम्बार किम परिवारसँग सम्बन्धित प्रचारात्मक सामग्रीसँगै सैन्य ब्यान्डका साङ्गीतिक कार्यक्रम र देशभक्ति तथा श्रमको महत्त्वबारे कथानक चलचित्रहरू प्रसारण गरिहन्छ।

यीबाहेक अरू सामग्री असामान्य मानिन्छ। त्यस कारण पनि ह्वासङ-१७ को प्रक्षेपण निकै भिन्न देखियो। अपेक्षा गरिएअनुसार नै यो घटना समाचार बनेर आयो, तर नितान्त भिन्न शैलीमा।

दर्शकहरूलाई देखाइएको १५ मिनेटको भिडिओमा इफेक्टबाहेक, मञ्चित नाटक र किम जङ-अनले आफ्नो कालो चस्मा पुछिरहेको दृश्य पनि थियो।

क्षेप्यास्त्र प्रक्षेपणका धेरै दृश्यहरूको मिश्रणलाई उत्तेजक सङ्गीतमा भरिएको थियो। समाचार पश्चिमाहरूले उत्तर कोरियाकी “पिङ्क लेडी” भनेर चिनिने अनुभवी समाचारवाचिकाले विजयी भावमा पढेकी थिइन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो प्रस्तुतिलाई तत्कालै ‘टप गन’, ‘थन्डरबर्ड्स’ र अरू बलीवुड चलचित्रहरूसँग तुलना गरिहाले।

कतिपयले किम र उनका सैन्य अधिकारीहरू प्योङ्याङ अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरबाहिर क्षेप्यास्त्र प्रहार गर्ने साधनको अगाडिबाट निस्किएको दृश्य सन् १९८३ को चर्चित चलचित्र ‘दि राइट स्टफ’को एक दृश्यकै नक्कल भएको प्रतिक्रिया जनाए।

त्यस्तो शैली र सामग्री उत्तर कोरियाली टेलिभिजन दर्शकका लागि नौलो थियो। कतिपय मानिसहरूले ठूलो सजायको जोखिम मोलेर भित्र्याइएका विदेशी चलचित्र हेरेका व्यक्तिहरूबाहेक अरूका लागि उत्तर कोरियाली टेलिभिजनका पर्दामा मानिसहरूले कहिल्यै त्यस्तो देखेका थिएनन्।

देशको शक्तिशाली प्रचार तथा सूचना विभागले यहाँ सन्तुलित काम हुनसक्ने देख्यो। उनीहरूले देशका दर्शकहरूलाई नयाँ र उत्साहजनक भिडिओ मात्रै नभएर देशको गौरव र किम जङ-अनको छवि दुवैलाई बढाउने सामग्री बनाए।

हालै आफ्नो तौल घटाएका किमको गतिशील नयाँ व्यक्तित्वलाई यो सुहाउँदो पनि देखियो। यो यसअघि प्रयास गरिएका कुनै पनि कामभन्दा निकै फरक थियो।

सन् २०१९ मा पवित्र पर्वत माउन्ट पेक्टुमा जाँदा अधिक तौलका कारण घोडामा चढेका सर्वोच्च नेता किमको शारीरिक संरचना भद्दा देखिएको थियो।

उत्तर कोरियालीहरूले यो देखेकै कारण धेरै परिवर्तन भएको निष्कर्ष निकाल्न असम्भव छ। तर भावभङ्गी र प्रस्तुतिसहित धेरै कुरामा अचानक आएको परिवर्तन उनीहरूका लागि पनि बुझ्न सहज छैन।

यसअघि हलीवुड चलचित्रहरू हेर्ने अवसर पाएका अल्पसङ्ख्यक मानिसहरू यसबाट थप दोधारमा पर्नेछन्। उनीहरूले आफैँलाई प्रश्न गर्न सक्छन् कि भुलवश त्यस्तो भिडिओ बनाइएको हो कि एक पटकका लागि परीक्षण गरिएको हो वा यो परिवर्तनको सङ्केत हो?

यसको उत्तर सधैँको जस्तो तत्कालै पाउन कठिन छ। उत्तर कोरियाली प्रचारमा संलग्न भएका व्यक्तिहरूले क्षेप्यास्त्र परीक्षणको भिडिओ देशबाहिर हेरिन्छ र चर्चा गरिन्छ भनेर थाहा पाएरै हलीवुडसँग मिल्दो दृश्य बनाएका हुनसक्छन्। तर जसले बनाएको भए पनि यो मौलिक देखिँदैन र हाँसोउठ्दो देखिन्छ।

समग्रमा यो एउटा आत्मविश्वासको प्रदर्शन हो। उक्त क्षेप्यास्त्र राजधानी भन्दा २५ किलोमिटर टाढा प्योङ्याङको सुनान अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहार गरिएको थियो। कुनै पनि असफलता विमानस्थल र वरपरका बासिन्दाका लागि विनाशकारी हुनसक्थ्यो। ह्वासङ-१७ किमले ठूलो गर्व गर्दै आएको अस्त्र हो।

उनले उत्तर कोरियालाई उक्साएमा कुनै पनि स्थानमा प्रहार गर्न सक्ने सन्देश बाँकी विश्व र विशेषतः अमेरिकालाई दिइरहेका छन्। लीवुड शैलीमा देखाइएको यो सन्देश प्योङ्याङमा गम्भीर रूपमा हेरिन सक्छ।

तर प्योङ्याङले दिने बाह्य सन्देशको लक्ष्य अमेरिकाकेन्द्रित हुने गरेको छ। उत्तर कोरियाली सञ्चारमाध्यममा युक्रेन युद्धलाई विरलै उल्लेख गरिए पनि उनीहरूले यसको कारकका रूपमा अमेरिकालाई दोष लगाउने गरेका छन्। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button