चिनियाँ सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्टिय विमानस्थल हस्तान्तरण भएपछि यो कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने चासो बढेको छ ।
चीनले विमानस्थल हस्तान्तरण गरे पनि अन्तर्राष्टिय उडानका लागि भारतले उडान रुट दिनुपर्ने हुन्छ । चिनियाँ विदेशमन्त्रीले नेपाल भ्रमणको क्रममा विमानस्थल हस्तान्तरण गरेपछि यो चासो अझ बाक्लिएको छ ।
नेपाल र भारतबीच यसका समmभदारी बने पनि सहमति भइसकेको छैन । नेपालले पोखरा र भैरहवा विमानस्थललाई लक्षित गरी भारतसित उडान रुट मागे पनि भारत यसमा उदासीन देखिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समकक्षी नारायण खड्कालाई हस्तान्त्ररण गरेका छन्।
शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष समकक्षी खड्कालाई विमानस्थल (सांकेतिक चाबी) बुझाएका हुन् ।
विमानस्थललाई अपेक्षित र सहजरुपमा सञ्चालनमा ल्याउन भारतले उडान रुट दिनु पर्दछ । नेपाल भारतबीच यसमा समझदारी बने पनि सहमति भएको छैन । विमानस्थल हस्तारन्तण भइसक्दा पनि भारतले उडान रुट लिन्छ कि दिँदैन भन्नेमा अन्योल छ ।
पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नेपाललाई थप हवाई रूट दिन भारतीय समकक्षी ज्योतिरादित्य सिंधियासँग प्रस्ताव गरेको बताएका छन्।
प्रस्तावमा भारतका उड्यनमन्त्री सिंधिया सकारात्मक भएकाले छिट्टै रूट पाउने मन्त्री आलेले जानकारी गराए।
‘मैले तीन महिनाअघि भारत जाँदा पनि समकक्षी सिंधियासँग प्रस्ताव गरेको थिएँ, हिजो हैदरावादमा भेट्दा पनि छलफल गरेको छु,’ उनले भने, ‘छिट्टै हवाई रूट प्राप्त गर्ने कुरा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु।’
भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गरेको सम्मेलनमा भाग लिएर मन्त्री आले शुक्रबार काठमाडौं फर्किएका थिए।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण समारोहका लागि आफू रातारात हैदरावादबाट काठमाडौं फर्किएको मन्त्री आलेले बताए।
मन्त्री आलेले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न रूटको समस्या नहुने दाबी गरे। नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाँदा भारतले विभिन्न रूट दिए पनि नेपाल भित्रँदा सिमराबाहेक अन्य रूट नदिएको मन्त्री आलेले बताए।
‘हामी यहाँबाट अन्य देशमा उडान गर्दा महेन्द्रनगर, कञ्चनपुरहुँदै, टनकपुर हुँदै जान्छौं, तर त्यहीँ रूटबाट फर्कन पाएको अवस्था छैन,’ उनले भने, ‘नेपालबाट बाहिर जान दिएको रूटबाट नेपाल भित्रन दिन पनि मैले भारतका समकक्षीलाई अनुरोध गरेको छु।’
नागरिक उड्यन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडान नेपाल भित्रन भारतले थप रूट दिनेबारे २०७५ असार २ गते सहमति भएको थियो। नेपाल नागरिक उड्यन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच भएको सहमति पत्रमा भारतले नेपाललाई थप ४ वटा हवाई रूट दिने उल्लेख भएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
उक्त सम्झौता २०१८ सेप्टेम्बर भित्र लागू हुने भनिए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। भारतले सिमराबाहेक अन्य स्थानबाट हवाई रूट नदिँदा नेपालमा निर्माण सकिएको भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अन्यौलमा छ।
भारतले सम्झौता अनुसार रूट दिएमा महेन्द्रनगर, जनकपुर, नेपालगञ्ज र विराटनगर रूट प्रयोग गर्न सकिने प्राधिकरणका ती अधिकारीले बताए।
अहिले नेपालबाट बाहिरिँदा महेन्द्रनगर, विराटनगर, भैरहवा र जनकपुरको बाटो भएर हवाइजहाज बाहिरिन्छन्। तर यी बाटोबाट जहाज नेपाल आउन भारतले रूट अनुमति दिएको छैन ।
भैरहवाको गौतमवुद्ध, निजगढ र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र महेन्द्रनगर रूटबाट उच्च उचाईमा उडान भर्न भारतले प्राविधिक अध्ययन गर्न समेत सहमति जनाएको थियो।
तर एयर रुट दिनेबारे भारतीय पक्षले अहिलेसम्म अग्रसरता नलिएको प्राधिकरणले जनाएको छ ।
चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।