No Image Headlineअर्थमुख्य खबर

किन निरन्तर बढिरहेको छ खाने तेलको मूल्य ? यस्तो छ कारण

खानेतेलको मूल्य नेपालमा पछिल्लो तीन वर्षभित्रै दोब्बर बढेको छ । नेपाल खुद्रा व्यापार संघले तय गरेको नयाँ मूल्य सूची तुलना गर्दा पछिल्लो तीन वर्ष अवधिमा सबै प्रकारका खानेतेलको मूल्य करिब दोब्बरले बढेको देखिन्छ ।

विसं २०७६ साल फागुनमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २७० रुपैयाँ थियो । २०७८ फागुनमा भुटेको तोरीको तेलको मूल्य लिटरमा १३० रुपैयाँले बढेर ४०० रुपैयाँ पुगिसकेको छ ।

२०७६ फागुनमा १७० रुपैयाँ प्रतिलिटर रहेको काँचो तोरी तेलको मूल्य २०७८ अहिले ३८५ र १५० रुपैयाँ प्रतिलिटर रहेको भटमासको तेलको मूल्य अहिले २७० रुपैयाँ पुगेको छ ।

२०७६ फागुनमा १६० रुपैयाँ प्रतिलिटर रहेको सूर्यमुखी तेलको मूल्य अहिले २९० रुपैयाँ पुगेको छ ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार उद्योगबाटै मूल्य बढेर आएकाले तेलको खुद्रा मूल्य बढिरहेको बताउँछन् । खानेतेल उत्पादन गर्ने उद्योगीले नै मूल्य बढाएर पठाएकाले बिक्री मूल्य बढिरहेको तुलाधरको दाबी छ ।

यसकारण बढ्यो मूल्य ः
तेल उद्योगी प्रदीप मुरारका अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा बढेको दाबी गर्छन् । ‘नेपालमा खानेतेलको कच्चा पदार्थ उत्पादन हुँदैन,’ मुरारकाले भने, ‘यहाँ खपत हुने सम्पूर्ण तेल र तेल बनाउन आवश्यक कच्चापदार्थ विदेशबाट आयात हुन्छ । विदेशबाट आयात गर्दा अन्तर्राष्ट्रिय मूल्यअनुसार नै ल्याउनुपर्छ ।’

नेपालमा युक्रेन, इन्डोनेशिया, मलेसिया, ब्राजिल, अर्जेन्टिना र भेनेजुयला लगायत देशबाट खानेतेल आउँछ । यी मध्ये पनि युक्रेनबाट यसअघि सबैभन्दा धेरै कच्चा तेल आयात हुने गर्थ्यो ।

तर, रुसले आक्रमण गरेपछि युक्रेनबाट तेल आयात ठप्प छ । युक्रेन विश्व बजारमा माग हुने खानेतेल पूर्ति गर्ने प्रमुख राष्ट्र रहिआएको थियो ।

माग पूरा गर्ने राष्ट्र नै युद्धमा फस्दा निर्यात रोकिएको र विश्वभरको आपूर्ति प्रणाली प्रभावित बन्दा अन्तर्राष्ट्रियस्तरमै खानेतेलको मूल्य बढेको नेपाल वनस्पति घ्यूतेल उत्पादक संघ दाबी गर्छ ।

संघका अनुसार यही वर्ष ब्राजिल र अर्जेन्टिनामा समेत खडेरी लागेर तोरी, भटमास र सूर्यमुखीको उत्पादन घटेको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button