No Image Headlineअन्तराष्ट्रिय

रुस-युक्रेन युद्धका ३ साता : कसले के पायो, के गुमायो ?

रुसले युक्रेनमाथि आक्रमण गरेको बीसौं दिनमा आइपुग्दा यस आक्रमणबाट रुसलाई भूरणनीतिक लाभ प्राप्त भइसकेको देखिन्छ ।

पश्चिमी सञ्चारमाध्यमहरूले युक्रेनमा रुस नराम्ररी फसिसकेको र उसलाई निकै धेरै क्षति पुगेको दाबी गरिँदैछ । बेलायतबाट निस्कने द डेली मेलले त रुससँग अब १४ दिन युद्ध लड्नका लागि मात्र सामग्री बाँकी रहेको लेखेको छ ।

अनि युक्रेन सरकारले रुसका १३ हजार ५०० सैनिक मारिइसकेका र सैन्य उपकरणहरूमा पनि व्यापक क्षति पुगेको दाबी गरेको छ । त्यस्तो क्षति पुगेको भए रुसी सेनाले महत्त्वपूर्ण खार्किभ, खेर्सोन क्षेत्र, मेलितोपोल, आव्दीव्का लगायत पूर्वी र दक्षिणी भागमा पूर्ण वा अर्ध नियन्त्रण कसरी कायम गर्थ्यो ? महत्त्वपूर्ण क्षेत्रमा रुसी सैनिकहरूले घेराबन्दी कसरी गर्न सक्थे ?

अनि रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको बाहिरी भागमा कसरी त्यति छिटै पुग्थे ? रुसीहरूलाई व्यापक क्षति पुगेर युद्ध छोड्ने स्थिति आउँथ्यो भने नेटोमा संलग्न हुने जिद्दी जेलेन्स्कीले किन त्याग्नुपर्थ्यो ?

वास्तवमा रुसले युक्रेनमा आफ्नो अभीष्ट लगभग प्राप्त गरिसकेको छ । रुसी आक्रमणको प्याटर्न हेर्दा ऊ युक्रेनको पूर्वी र दक्षिणी भागमा केन्द्रित रहेको देखिन्छ । पश्चिमी भागलाई उसले धेरै ध्यान दिएको छैन ।
तर पश्चिमी मुलुकहरूबाट आउने हातहतियारको प्रवाह रोक्नका लागि पोल्यान्डको सीमा नजिक रहेको लभिभ शहर बाहिरको सैन्य तालिम केन्द्रमा उसले आइतवार बिहान क्षेप्यास्त्र आक्रमण गरेको छ ।

युक्रेनको भूमिबाट रुसलाई हुने खतरा पूर्वी र दक्षिणी क्षेत्रबाट आउने गरेको थियो । अमेरिकाले युक्रेनको पूर्वमा रुस सीमा नजिक अनेकौं अड्डा बनाउनका लागि प्रयास गरिरहेको थियो ।

वार्तामार्फत युक्रेनले रुसी शर्त नमान्ने हो भने आजोभ र कृष्ण सागरमा पहुँच गुमाएर कमजोर भूपरिवेष्ठित राज्य बन्ने सम्भावना प्रबल बन्दै गएको छ । अनि अमेरिका र नेटोले जलक्षेत्रमा तेर्स्याउन सक्ने जोखिमलाई रुसले लगभग निस्तेज पारिसकेकाले पुटिनको भूरणनीतिक विजय भइसकेको भन्न सकिन्छ ।

पूर्वी भागमा रहेको डोनबास क्षेत्रका डोनेत्स्क र लुगान्स्कमा युक्रेनी फौजहरू व्यापक संख्यामा तैनाथ थिए । विगत आठ वर्षदेखि त्यहाँ युक्रेनी र रुसीभाषी विद्रोहीहरूबीच लडाइँ चलिरहेकाले युक्रेनी सैनिक त्यहाँ बढी खटिनुपरेको हो ।

युक्रेनको आव्दीव्काबाट डोनेत्स्कमा लगातार प्रहार हुने गरेकाले धेरै रुसीभाषीहरू चपेटामा पर्ने गरेका थिए । तर रुसी सेनाले आव्दीव्कामा क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त पारेकाले अब डोनेत्स्क धेरै हदसम्म सुरक्षित बनेको छ ।

मुख्य कुरा, डोनबास क्षेत्रबाट क्राइमियासम्म जमीनको बाटो हुँदै जान सक्ने स्थिति रुसले निर्माण गर्न लागिसकेको छ । डोनबास र क्राइमियाको बीचमा रहेको मारिउपोल नियन्त्रणमा लिन रुसीहरूले भयंकर लडाइँ गरिरहेका छन् ।

डोनबासबाट क्राइमियासम्म रुसको नियन्त्रण कायम भएमा पश्चिमी शक्तिहरूले कृष्ण सागरको तटमा रहेको क्राइमियालाई नाकाबन्दी लगाउन खोजेछन् भने पनि रुसले जमीनको बाटो भएर डोनबासबाट क्राइमियासम्म सामान पुर्‍याउन पाउनेछ ।

सन् २०१४ मा रुसले क्राइमिया हात पारेपछि युक्रेनले नीपर नदीको पानी क्राइमिया र खेर्सोन क्षेत्र पुग्नबाट रोक्न एक बाँध बनाएको थियो । त्यसरी पानी लाने नहर नर्थ क्राइमियन कनालमा बाँध बनाएर युक्रेनले क्राइमियाको ८५ प्रतिशत पानी रोकिदिएको थियो । पानीको अभावले तड्पिएर क्राइमियालीहरू किएभको शासनमा फर्किन बाध्य होऊन् भन्ने उद्देश्य लिइएको थियो ।

तर रुसी सेनाले आक्रमणको तेस्रो दिनमै उक्त बाँधलाई ध्वस्त पारेर क्राइमिया पुग्ने पानीको बहावलाई खोलिदिएको छ । त्यसले क्राइमियाको जल समस्या हल गर्नुका साथै क्राइमियालाई रुसमै रहन थप प्रेरित गरेको छ ।

क्राइमियाका साथै कृष्ण सागरको तटमा रहेको अर्को शहर ओडेसा पनि रुसका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ । पश्चिमी सैन्य गठबन्धन नेटोले रुसको कमजोर कडीका रूपमा रहेको कृष्ण सागरको तटमा सैन्य संरचना निर्माण गरी आणविक हतियार राख्न खोजेकोले नै रुसले युक्रेनमा आक्रमण गरेको हो । क्राइमिया नियन्त्रणमा लिएर मात्र रुसको सुरक्षा चिन्ता अन्त्य नहुने भएकाले ओडेसालाई पनि रुसले आफ्नो अधीनमा पार्न खोजेको हो ।

ठूलो संख्यामा रुसीभाषीहरू बस्ने ओडेसालाई नियन्त्रणमा लिनका लागि रुसी जलसेनाका १४ वटा जहाजहरू ओडेसा नजिक पुगेको खबर नेभलन्युज डट्कमले दिएको छ । दुईवटा जहाजमा योद्धाहरू छन् भने अन्यमा ल्यान्डिङ शिपहरू छन् । रुसले ओडेसामा जल र स्थल दुवैथरी सेना उपयोग गरेर उभयचर युद्ध गर्न खोजेको संकेत भेटिन्छ ।

रुसले ओडेसालाई नियन्त्रणमा लिन सफलता पाएमा कृष्ण सागरमा उसको एकछत्र राज चल्नेछ । अमेरिकी, बेलायती र अन्य मुलुकका जलसेनाले कृष्ण सागरमा आएर रुसलाई उत्तेजित पार्ने क्रियाकलाप गर्न सक्ने छैनन् । अनि ओडेसा पनि गुमायो भने युक्रेन वस्तुगत रूपमा भूपरिवेष्ठित मुलुक बन्नेछ ।

कृष्ण सागर र आजोभ सागरकै कारण युक्रेन जलक्षेत्रीय मुलुक बन्न पाएको हो । तर आजोभ सागरको तटमा रहेको खेर्सोन रुसको नियन्त्रणमा पुगिसकेको छ भने मारिउपोल पनि हात पार्नका लागि रुसी सैनिकहरूले प्रयास गरिरहेका छन् ।

सन् २०१४ मा रुसी सैनिकहरूले मारिउपोलबाट युक्रेनीहरूलाई भगाएका थिए । तर पछि नवनाजी समूह आजोभ बटालियन मारिउपोल पुनः कब्जामा लिन सफल भएको थियो ।

अहिलेको लडाइँपछि मारिउपोल रुसको नियन्त्रणमा पुगेमा रुस, डोनबास क्षेत्र र क्राइमियाको बीचमा कोरिडोर बन्नेछ र आजोभ सागरमा रुसको पूर्ण नियन्त्रण कायम हुनेछ । रुस त्यसमा सफलतानिकट पुगेको छ ।

कृष्ण सागरको तटमा रहेका युक्रेनी भूभागमा रुसले एकपटक नियन्त्रण कायम गरेपछि पुनः फर्काउने सम्भावना हुँदैन । क्राइमिया हात पारेको रुसले अहिले युक्रेनलाई उक्त प्रायद्वीप रुसको भूभाग भएको स्वीकार गर्न भनिरहेको छ ।

केही विश्लेषकहरूले चाहिँ क्राइमियाको सेभास्तोपोल र ओडेसालाई रुस र युक्रेनी जलसेना दुवैले बराबर उपयोग गर्ने अनि अमेरिकी तथा नेटो जलसेनालाई ती दुई तटीय शहरमा आउनै नदिने शर्त युक्रेनले मान्ने हो भने युक्रेनको नियन्त्रण ओडेसामा कायम रहन दिन रुस सहमत हुन सक्ने अनुमान गरेका छन् ।

आखिर समान स्लाभ जाति र संस्कृति तथा अर्थोडक्स क्रिस्चियन धर्म भएका युक्रेनीहरूलाई अनन्तकालसम्म दुश्मन बनाउने ध्येय पुटिनले पक्कै पनि लिएका छैनन् । उनी त युक्रेनी संस्थापन पक्षलाई नियन्त्रण गर्ने नवनाजीहरूलाई मात्र सफाया गर्न चाहन्छन् । रुसले युक्रेनमा परिचालित गरेको सैनिक संख्या हेर्दा युक्रेनको भूमिमा उसले कब्जा गरेर बस्ने कुनै सम्भावना देखिँदैन ।

यस सैन्य कारवाहीमा रुसले भयंकर बलप्रयोग गरेकै छैन । अमेरिकाले इराकमाथि सन् २००३ मा युद्ध गर्दा पहिलो तीन हप्ता आकाशबाट बेस्सरी बम खसाएको थियो अनि मात्र स्थलसैनिकहरू पठाएको थियो । त्यस्तै सन् १९९९ मा नेटोले कोसोभो युद्धका क्रममा युगोस्लाभियामा १० हप्तासम्म लगातार बम प्रहार गरेको थियो । त्यस हदको वायुसेन्य कारवाही रुसले युक्रेनमा चलाएको छैन ।

रुसको स्थलसेनाले अहिलेसम्म कुनै पनि युद्ध हारेको इतिहास छैन । पहिलेका युद्धमा रुसी सैनिकहरूले निकै बलप्रयोग गर्थे । दोस्रो विश्वयुद्ध हुँदा रेड आर्मीले हिटलरको नाजी सेना वेरमाख्तविरुद्ध गरेको लडाइँको विवरण पढ्दा यो कुरा थाहा हुन्छ । युक्रेन युद्धमा पुटिनले रुसी सैनिकहरूलाई संयम अपनाउन निर्देशन दिएको स्पष्ट छ ।

यस्तो किसिमको संयमित कारवाहीलाई रुसका सामरिक मामिला विशेषज्ञ आन्द्रेई मार्त्यानोभले कम्बाइन्ड आर्म्ड पुलिस अपरेसन नाम दिएका छन् । बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भारतले हैदराबाद नियन्त्रणमा लिनका लागि यस्तै किसिमको कारवाही चलाएको भारतका रक्षा मामिलामा यथार्थवादी टिप्पणी गर्ने डा भरत कार्नाडको कथन छ ।

जे होस्, यो युद्ध तेस्रो हप्ता सकिन लाग्दा रुसको पक्षमा गइसकेको प्रशस्त संकेत पाइन्छन् । अमेरिकाले युक्रेनमा आफ्नो सैनिक पठाउन नमानेको अनि नेटोले युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्न अस्वीकार गरेकोले पनि रुसलाई अघि बढ्न सहज भएको हो ।

तर रुसले युक्रेनीहरूबाट यत्तिको प्रतिकार होला भन्ने आकलन चाहिँ गर्न नसकेको देखिन्छ । रुसको भन्दा निकै कमजोर क्षमता भएको युक्रेनी सेना यसरी डटेर लड्ला अनि राष्ट्रपति जेलेन्स्कीले यस्तो प्रेरणादायी नेतृत्व देलान् भनी रुसले सोचेको थिएन ।

रुसी सैन्य कारवाही शुरू भएलगत्तै जेलेन्स्की राजीनामा दिएर पलायन हुन्छन् अनि युक्रेनीहरूले रुसीलाई स्वागत गर्छन् भनी रुसले सोच बनाएको थियो भने त्यो सर्वथा गलत साबित भएको छ । तर जेलेन्स्कीको अडानका कारण युक्रेनमा धेरै ज्यान गएको तथ्यलाई पनि यहाँ मनन गर्नुपर्ने हुन्छ ।

जे होस्, यो युद्ध तेस्रो हप्ता सकिन लाग्दा रुसको पक्षमा गइसकेको प्रशस्त संकेत पाइन्छन् । अमेरिकाले युक्रेनमा आफ्नो सैनिक पठाउन नमानेको अनि नेटोले युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्न अस्वीकार गरेकोले पनि रुसलाई अघि बढ्न सहज भएको हो ।

वार्तामार्फत युक्रेनले रुसी शर्त नमान्ने हो भने आजोभ र कृष्ण सागरमा पहुँच गुमाएर कमजोर भूपरिवेष्ठित राज्य बन्ने सम्भावना प्रबल बन्दै गएको छ । अनि अमेरिका र नेटोले जलक्षेत्रमा तेर्स्याउन सक्ने जोखिमलाई रुसले लगभग निस्तेज पारिसकेकाले पुटिनको भूरणनीतिक विजय भइसकेको भन्न सकिन्छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button