फलफूलमा परनिर्भरता : ७ महीनामा चीनबाट सवा ३ अर्बको स्याउ आयात

चालू आर्थिक वर्षको पहिलो सात महीनामा फलफूलको आयात अकासिएको छ ।
सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट ३ अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका ३ करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले बताएको छ ।


नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलफूलको परनिर्भरता चुलिंदै गएको देखिन्छ । नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७/ ७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो ।
नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो । चालू आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट १ अर्ब १५ करोड ३२ लाख ५६ हजार रुपैयाँ बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले बताएको छ ।
विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । समग्रमा चालू आर्थिक वर्षको पहिलो सात महीनामा कुल ४ अर्ब ३७ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यसैगरी सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार ६०० रुपैयाँ बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ । सो अवधिमा भारतबााट ७७ करोड ४८ लाख ७२ हजार रुपैयाँ, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार रुपैयाँ र टर्कीबाट ११ लाख ६६ हजार ६०० रुपैयाँ बराबरका कुल १ करोड ४५ लाख ७० हजार ३ केजी सुन्तलाको आयात भएको छ ।
त्यस्तै चालू आर्थिक वर्षको पहिलो सात महीनामा भारतबाट ५३ करोड ९६ लाख ५ हजार रुपैयाँ बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्यांकले देखाएको छ ।