रुस-युक्रेन युद्ध : युक्रेनबाट के चाहान्छन् रुसी राष्ट्रपति ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्।



बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्।



पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो ।



मागहरू दुई भागमा बाँडिएका छन्। शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन।
तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेकोजस्तो देखाउने खालका छन्।
युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ।
यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।
तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।
दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ।
जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।
दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन्। उनले ती मागहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित रहेको बताए।
युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ जुन निकै पेचिलो विषय हुनेछ। अर्को अनुमान अनुसार युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दियोस् भन्ने रुसको चाहना छ ।
जुन कुरा युक्रेनका लागि साँच्चै फलामको चिउरा चपाए सरह हुनेछ। रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो।