देशमुख्य खबर

आज तराईमा होली, अन्य १० देशमा यसरी मानाइन्छ होली

रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा यो पर्व हिजो मनाइएको छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चीर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुन्छ ।

तराईका जिल्लाहरुमा आज रंग अवीर दलेर शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो ।

जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङग््याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ ।

अन्य देशहरूमा होली 

अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आआफ्नै तरिकाले होली पर्व मनाइन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नाममा मनाइन्छ । अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशमा समेत होली आ–आफ्नै तरीकाले मनाइन्छ ।

भारत
भारतमा होली वा फगुवाका नाममा यो पर्व मनाउने गरीन्छ । भारतको गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बङ्गाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर, पञ्जाब, मध्य प्रदेश र तमिलनाडुमा होलीको विशेष उल्लास रहने गरेको छ । बिहारको भोजपुरी शैलीको होली र जोगिरा गायन पूरा एसियामा लोकप्रिय छ ।

पाकिस्तान
पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मान्नेहरुले होली मनाउने गर्दछन् । पाकिस्तानमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्दै मन्दिरहरूमा भेला भएर होली मनाउने गरीन्छ ।

बङ्गलादेश
बहुसांस्कृतिक मुलुक बङ्गलादेशमा पनि होली पर्व मनाइन्छ । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँने गर्दछन् । मन्दिरमा जम्मा भएका हिन्दुहरुले उल्लासका साथ होली खेल्ने गर्दछन् । बङ्गलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव रहदै आएको छ ।

गुयाना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने गरीन्छ । यहाँ पानी, रङ र गीत संगीतका बीचमा होली मनाउने चलन छ । तर यहाँ भगवान् शिवको नाममा होली मनाइन्छ । त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदा समेत दिइन्छ ।

बेलायत
बेलायतमा बसोबास गर्ने अन्य मुलुकका नागरिकहरुले आ–आफ्नै किसिमले होली मनाउने गर्दछन् । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर तथा कतिपय ठाउँमा टिकट बेचेर पनि होली मनाउने चलन पनि छ । भारतीय तथा नेपाली नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा सांगीतिक कार्यक्रम गरेर धूमधामका साथ होली मनाउने चलन छ ।

मौरिसस
भारतीय मूलका नागरिकको वर्चश्व रहेको अफ्रिकी महादेशको मौरिससमा होलीका दिन सार्वजनिक बिदा नै दिइन्छ । यहाँ होलिका दहन गरेरै होली मनाउने गरीन्छ । विशेषतः हिन्दुहरुले एक आपसमा रंग सहित मिठाई बाँडेर होली खेल्ने गर्दछन् ।

फिजी
फिजीमा पनि होली पर्व मनाउने गरीन्छ । विशेष रुपमा राधा र श्रीकृष्णको प्रेमभावका गीतहरू गाएर यस मुलुकमा होली मनाउने गरीन्छ । यहाँ होलीका दिनमा मात्र होइन, यो मौसम भरि नै होलीका गीतहरू गाएर यो पर्व मनाइन्छ ।

दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा पनि गीत गाउर्दै, नाच्दै होली पर्व मनाइन्छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा साथीभाइहरू जमघट भएर यो पर्व मनाइन्छ । दक्षिण अफ्रिकामा होलीका दिन दिनभर रंग लगाउने र साँझपख मिठाई तथा चकलेटहरू बाँडेर यो पर्व मनाउने गरीन्छ ।

सुरिनाम
करिब ४० प्रतिशत हिन्दू रहेको मुलुक सुरिनाममा होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने गरीन्छ ।

अमेरिका
अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजना गरेर होली मनाइन्छ । भेटघाट एवं खानपिन अमेरिकी होलीको महत्वपुर्ण पक्ष हो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button