सात महीनाको आर्थिक परिदृष्य : रेमिट्यान्स घट्यो‚ निर्यात बढ्यो
अधिकांश सूचक नकारात्मक, रुस युक्रेन युद्धको असर देखिन बाँकी

आर्थिक वर्ष २०७८/२०७९ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यास) ४ं.९ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा रु ५४० अर्ब १२ करोड कायम भएको छ ।



अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।



राष्ट्र बैँकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९ को सात महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २‚००‚१०२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।



त्यसैगरी‚ वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १‚५२‚३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु.६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।
त्यस्तै‚ आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमश: ११३.० प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीन तर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल‚ सोयाविन तेल‚ पिना‚धागो (पोलिष्टर तथा अन्य)‚ जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची‚ चिया‚ जडीबुटी‚ तार‚ तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
यसैगरी‚ आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु.११४७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात्०.०१ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत‚ चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश: ३०.९ प्रतिशत‚ ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ‚ औषधी‚ कच्चा पाम तेल‚ कच्चा सोयाविन तेल‚ यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट‚ रासायनिक मल‚ सिमेन्ट‚ दाल‚ मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।
सो समयमा कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भई रु.१०१५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु. १२८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १०४ अर्ब १३ करोड बराबरको भएको थियो ।
अधिकांश सूचक नकारात्मक
७ महीनामा अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ७ महीनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअुनसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू नकारात्मक दिशातर्फ लम्किएका हुन् ।
चालू आवको ७ महीनामा ११ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा उक्त आयात ४२ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यस्तो आयात शून्य दशमलव शून्य १ प्रशितले मात्र वृद्धि भएको थियो ।
आयातमा आधारीत अर्थतन्त्र भएकाले त्यसको मारमा सर्वसाधारण पर्ने अर्थविद्हरूको भनाइ छ । समग्र अर्थतन्त्रका परिसूचकले देशको अर्थ व्यवस्था झनै खस्कंदै गएको देखाएको अर्थविद् डा. रेशम थापाले बताए ।
नेपालको अर्थ व्यवस्था आयातमा आधारीत भएकोले यसको प्रत्यक्ष मारमा सर्वसाधारण परेको उनको भनाइ छ । ‘७ महीनाको अर्थतन्त्रका सूचक हेर्दा सबै नकारात्मक देखिएका छन् । यसको प्रत्यक्ष प्रभाव आम जनतामा पर्ने छ । महँगी पनि गत वर्षकोभन्दा बढी नै देखियो । अहिलेको अर्थतन्त्रको सूचक हेर्दा आगामी दिनमा महँगी झनै चर्कने देखिन्छ ।’ उनले भने ।
राष्ट्र बैंककाअनुसार कुल विदेशी विनिमय सञ्चिति गत असार ससान्तसको तुलनामा चालू आवको माघ सम्ममा १६ दशमलव २ प्रतिशतले कमी आएको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा माघमा ११ खर्ब ७३ अर्ब रुपैयाँ मात्रै छ ।
उक्त विदेशी विनिमय सञ्चितिले साढे सात महीना को वस्तु आयात र साढे ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने उल्लेख छ । तर, पछिल्लो एक महीनादेखि सुन, पेट्रोल र डलरको भाउ बढेकाले यो तथ्यांकमा देखाएजस्तो विदेशी विनिमय सञ्चिति नरहने अर्थविद्हरूको भनाइ छ । आयातमा आधारीत अर्थतन्त्रका कारण डलरको भाउ बढेको समयमा पनि नेपालले फाइदा लिन नसकेको थापाको भनाइ छ ।
त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तको तुलनामा १७ दशमलव ७ प्रतिशतले कमी आएको छ । असार मसान्तमा राष्ट्र बैंकमा १२ खर्ब ४४ अर्ब रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा माघ मसान्तमा घटेर १० खर्ब २४ अर्ब कायम भएको छ ।
त्यसैगरी माघ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा थियो ।
त्यस्तै ७ महीनाको अवधिमा विप्रेषण (रेमिट्यान्स) आयमा पनि कमी आएको छ । गत वर्षको माघ महीनासम्मको तुलनामा चालू आवको सोही अवधिमा रेमिट्यान्स आय ४ दशमलव ९ प्रतिशतले कमी आई ५ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ ।
गत आवको सात महीनासम्म यस्तो आय १० दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । माघ महीनामा महँगी ५ दशमलव ९७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा महँगी २ दशमलव ७० प्रतिशत रहेको थियो ।
त्यस्तै फागुन महीनामा भएको युक्रेन–रसिया युद्धको प्रभाव नेपाली बजारमा देखिएको भएपनि राष्ट्र बैंकको यो तथ्यांकले अहिलेको महँगीलाई नदेखाएको कतिपयको भनाइ छ । अहिलेको तथ्यांक राष्ट्र बैंकले पहिले नै विश्लेषण गरेकोले बजारको यथार्थ महँगीको तथ्यांक आउनै बाँकी रहेको बजारका जानकार बताउँछन् ।