केराउ, सुपारी र मरीचको तस्करी रोक्ने कि आयात ?
लामो समयदेखि प्रतिबन्ध लगाइएको केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आव २०७८/०७९ का लागि तो वस्तुको आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेको जनाएको छ।
यससम्बन्धी अनुमति दिदै राजपत्रमा सूचना प्रकाशन भएको छ। औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ।
यस्ता बस्तुको आयात विवादित बन्दै आएको छ । यी बस्तु दैनिक उपभोग्यका भए पनि आवश्यकताभन्दा बढी परिमाण ल्याएर भारततर्फ तस्करी हुने गरेको छ ।
यही बाहानामा व्यापारीदेखि सीमानामा खटिएको प्रहरी र आयात अनुमति दिने निकायका उच्च पदस्थ पदाधिकारीसमेतले आर्थिक लाभ लिने गरेका छन् ।
गत वर्ष कोटा वितरण पनि चरम विवादमा मुछिएको थियो । वाणिज्य विभागदेखि मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसम्म यो विवादमा मुछिने गरेकाले यसमा सबैको चासो बढी हुने गरेको छ ।
आर्थिक लाभ लिएर सीमित व्यापारीलाई कमाउने चाँजोपजो मिलाउने गरेको आरोप लाग्दै आएको छ । यसपटक पनि उद्योगको नाममा अवैध व्यापारको प्रपञ्च मिलाइएको चर्चा व्यपारिक जगतमा चलेको छ ।
यसमा विराटनगर र वीरगञ्ज क्षेत्रका केही चल्तापूर्जा र स्वघोषित ठूला व्यापारीले साँठगाँठ गरेको बताइएको छ । उद्योगको नाममा भित्र्याएर भारततर्फ निकासी हुने दाबी छ ।
केही व्यापारीहरु सरकारले अनुमतिको नाममा अनधिकृत साँठगाँठको माहोलमात्र बनाएको गुनासो गरेका छन् । कि सबैका लागि आयात खुला गरिनुपर्ने, नत्र उद्योगको आवरणमा सीमित व्यापारी, कर्मचारी र नेता मोटाउने प्रपञ्च हुन नहुने त्यस्ता व्यापारीको भनाइ छ ।
यसअघि २०७६ चैत २४ गते राजपत्रमा नै सूचना प्रकाशित गरेर ती वस्तुको पैठारीमा बन्देज लगाइएको थियो । पुनः २०७७ चैत ९ गते अर्को सूचना प्रकाशित गरेर केराउमा ८० हजार मेट्रिक टन, सुपारीमा २५ हजार मेट्रिक टन, छोकडा पाँच हजार मेट्रिक टन र नधुल्याएको मरीचमा १५ हजार मेट्रिक टनको परिमाणात्मक बन्देज लगाएको थियो।
यसअघि विदेशी मुद्दा सञ्चितिमा परेको चापलाई समेत दृष्टिगत गरेर आयातलाई निरुत्साहित गर्न खोजिएको थियो । अहिले फेरि परिमाणात्मक बन्देज लगाउन उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पङ्गेनीले बताए ।