अर्थ

तरलता अभावले उद्योग–व्यवसायमा असर : अर्थविद्

बैंक तथा वित्तीय संस्थामा तरलता अभावका कारण उद्योग, व्यवसायलगायत क्षेत्रमा व्यापक असर परेको अर्थविद्ले बताएका छन् ।

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको बिज टक कार्यक्रममा सहभागी अर्थविद्ले जनशक्तिको कमी, बैंकको मनोमानी र सरकारको अदूरदर्शी नीतिका कारण उद्योग, व्यापार र कारोबार क्षेत्र धरासायी बन्दै गएको बताएका हुन् ।

अर्थशास्त्री डा भेषप्रसाद धमला, प्रा पीके झा र डा वेदराज आचार्यले तरलता अभावको प्रमुख कारण सरकार र नेपाल राष्ट्र बैंकको अदूदर्शी र अस्पष्ट नीति भएको आरोप लगाए ।

देशको जनशक्ति विदेश पलायन हुनमा सरकार नै उद्धत रहेको र जनशक्ति अभावका कारण उत्पादनमा असर पुगेको धमलाको भनाइ छ ।

“बैंकको व्याजदर अत्यधिक वृद्धि हुँदा उत्पादनमा असर पुगेको छ । देशलाई आवश्यक जनशक्ति विदेश पलायन हुन बाध्य पारेर देशको विकास हुन सक्दैन,” उनले भने ।

उनले दक्ष जनशक्ति विदेश जाँदा केही सीप सिकेर आउने, तर अदक्ष र अर्धदक्ष जनशक्ति खाडीको तातोमा श्रम बेचेर पसिना बगाउनबाहेक केही नहुने उनले बताए ।

डा पीके झाले नेपालका आर्थिक नीति निर्दयी बन्दै गएको बताउँदै बतए ।

“विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुने गरेको छ । उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्छ,” झाले भने ।

बजारमा तरलता अभाव हुनमा राष्ट्र बैंकको पनि दोष रहेको बताउँदै उनले राष्ट्रबैंकले पनि यसको जवाफदेहिता लिनुपर्ने बताए ।

“उद्यमशीलताले तरलता अभावलाई नियन्त्रण गर्ने भन्दै सरकारले उद्यमशीलता विकासका लागि उद्योग र उद्योगी अनि व्यापार र व्यवसायीको हित हुने गरी नीति निर्माण गर्नुपर्छ,” उनले भने ।

त्यसैगरी, डा वेदराज आचार्यले स्वदेशको रकम स्वदेशमा नै परिचालन गर्न स्वदेशमा पाइने कच्चापदार्थलाई उपयोग गर्ने उद्योग स्थापनामा प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, “संसारकै गरिब र अतिविपन्न मुलुक इथोपियाले आज विकासोन्मुख राष्ट्रको दर्जा पाइसकेका छ । व्यापक स्रोत र साधन हुँदाहुँदै नेपालको अर्थतन्त्र दूरावस्थामा पुग्नु खेदजनक विषय हो ।”

संघका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा, कार्यकारी सदस्य अमित सारडालगायतले अर्थ सरोकारका विषयमा जिज्ञासा राखेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button