No Image Headlineअर्थमुख्य खबरविशेष

राजस्व अनुसन्धान, भन्सार र आन्तरिक राजस्व भीसीटीएसमा जोडिँदै : स्रोत र कारोबारमा कडाइ

भेइकल्स कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस)लाई थप प्रभावकारी बनाउन सरकार तातेको छ ।

राजस्व अनुसन्धान विभागले प्रत्यक्ष हेरिरहेको यो प्रणालीमा भन्सार र आन्तरिक राजस्व विभागलाई पनि जोड्ने विषयमा छलफल थालिएको हो । तीनै निकायका महानिर्देशकको संयुक्त बैठकमा यसबारेमा छलफल भइरहेको छ ।

तीन निकाय आपसमा जोडिएपछि अवैध कारोबार र कर चुहावट नियन्त्रणमा चामत्कारित परिवर्तन हुने दाबी विभागका उच्च अधिकारीहरु बताउँछन् ।

अहिले भीसीटीएस र आन्तरिक राजश्व विभागमा देखाउने कारोबार फरक पारेर कर छली भइरहेको छ । तीनै निकाय प्रणालीमा आवद्ध भएपछि यो चोरी तत्कालै समातिने बताइन्छ ।

विभागका कर्मचारीका अनुसार भीसीटएसबाट ठूला प्रकृतिको करछलीसम्म पुग्न सकिने भएकाले यसलाई थप प्रभावकारी बनाउन विभाग लागि परेको छ।

भीसीटीएसमा समावेश गरिने मालसामानको स्रोत प्रणालीबाटै रुजु गर्ने व्यवस्थामा पनि छलफल भएको स्रोतले बताएको छ । अहिले भीसीटीएसको प्रणालीले मालसमानको स्रोत नखोज्ने भएकाले यो तस्करीका लागि बरदान बनेको छ ।

यसमा ढुवानी व्यावसायीको भाडा रकम समेत समावेश नहुँदा अधिकांश व्यवसायीले कम भाडा देखाएर कर चुहावट गरिरहेका छन् । यसको नियन्त्रणका लागि प्रणालीलाई थप विस्तार र अद्यावधि गर्दै जाने विषयमा पनि विभागको तयारी छ ।

भन्सार र आन्तरिक राजस्व विभागले राजस्व अनुसन्धानलाई कतिसम्म तथ्यांक हेर्न अनुमति दिने भन्ने विषयमा छलफल चलिरहेको र अनुसन्धान विभागले आफूसँग भएका सबै तथ्यांक दिनका लागि प्रस्ताव गरेको महानिर्देशक प्रकाश पौडेलले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा नै सो काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। महानिर्देशक पौडेलले भने, अहिले राजस्व अनुसन्धानको सानो तथ्यांकका लागि पनि दुई निकायसँग पत्राचार गरी माग्नु पर्ने अवस्था छ, यो प्रणाली लागू गर्न सके अनुसन्धानका लागि सहज हुनेछ।

यो प्रणालीमा सरकारका तीनवटै निकायहरु जोडिएपछि व्यवसायीले देशभित्र र देशबाहिर गर्ने कारोबारको सबै विवरण प्रणालीमा देखिनेछ। सो तथ्यांकबाट राजस्व छलि हुने सम्भावना न्यून भएर जानेछ।

अनुसन्धान विभागले दुई निकायसँग गरिने सम्झौताका लागि कार्ययोजना तयार गरिसकेको छ। पछिल्लो समय राजस्व चुहावटलाई नियन्त्रण गर्न उपयुक्त मानिएको भीसीटीएस थप प्रभावकारी बन्दै गएको छ।

कुनै पनि व्यवसायीले कुन पार्टी या दोस्रो पक्षलाई सामाग्री बिक्री गरिरहेको छ, लिनेदिने दुवै पक्षको खरिद बिक्री बिल देखिनेछ। यसले स्वदेशभित्र हुने सम्पूर्ण आर्थिक कारोबारलाई पारदर्शी बनाउन सहयोग पुग्नेछ।

सम्झौतापछि भन्सार विन्दुबाटै ट्रयाकिङ सुरु भएर कारोबारका सबै रेकर्ड ट्रयाक हुनेछ। कर प्रणालीलाई थप पारदर्शी बनाउन देशभित्र तथा देश बाहिरका कारोबारलाई प्रणालीमा समेट्न खोजिएको हो। अहिले भीसीटीएस उद्योगबाट तथा कम्पनीले देशभित्र गर्ने कारोबारमा मात्रै सीमित छ।

भन्सार विभागका अधिकारीहरुका अनुसार भन्सार नाकाबाटै भीसीटीएस सुरु गरिसकेपछि कुन व्यवसायीले कति मूल्यमा सामाग्री आयात गरेको छ र कति मूल्यमा उपभोक्तालाई बिक्री गरेको स्पष्ट हेर्न सकिनेछ।

यसबाट व्यवसायीले अत्यधिक नाफा लिएर बेच्न सक्ने अवस्था हुँदैन। यसबाट भन्सार छली ल्याएको कुनै पनि मालवस्तुको फर्जी बिल बनाएर बिक्री वितरण गर्न सक्ने छैनन्।
डेढ लाख सवारी प्रणालीमा

विभागले प्रणाली सञ्चानमा ल्याएको साढे दुई वर्षमा एक लाख ५५ हजार ७ सय ४४ सवारी प्रणालीमा जोडिइसकेका छन्।

विभागले अहिले दैनिक अनुगमनलाई तीव्र बनाएसँगै चार सयभन्दा बढी फर्महरुलाई कारबाही गरिसकेको छ। यसबाट दुई करोड ५० लाख रुपैयाँ जरिवाना उठेको छ।

भीसीटएसमा बजारमा ठूला भनिएका कम्पनीहरु पनि समातिएका छन्। ढुवानीका गाडीमा एकथरी सामान भनेर अर्कैथरी सामान लिएर हिंड्ने गरेको भेटिएको छ।

विभागका अनुसार, यो प्रणाली संचालनमा आएपछि दैनिक २५ हजारभन्दा बढी कन्साइन्टमेन्ट इन्ट्री भैरहेका छन्। यस्तै हालसम्म कुल बिल ४८ खर्ब ८ अर्ब रुपैयाँ बराबरको इन्ट्री भैसकेको छ। चलान ५ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको छ। प्रज्ञापनपत्र २२ खर्ब ८० अर्ब रुपैयाँ बराबरको इन्ट्री भैसकेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button