No Image Headlineअर्थमुख्य खबरविशेष

नेपालका तेल उद्योगलाई मूल्यवृद्धिको टेको, भारतले कर बढाए पनि निकासी बढेकोबढ्यै

Thrill Factory
Rungta Group

विश्व बजारमा कच्चा पदार्थमा भइरहेको निरन्तर वृद्धि नेपालका तेल उद्योगका लागि वरदान सावित भएको छ ।

भारतले खानेतेल र यसको कच्चा पदार्थको आयातमा सीमा शुल्क घटाएपछि चिन्तित स्वदेशी तेल उत्पादकलाई कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले यति बेला उत्साह थपेको छ ।

भारतले तेल आयातमा सीमा शुल्क ४० प्रतिशतबाट साढे ५ प्रतिशतमा झारेपछि अब भारत निकासी बन्द हुने भयो भन्दै स्वदेशी उद्योग आत्तिएका थिए ।

तर, अहिले पनि निर्यात व्यापारमा प्रशोधित तेलकै  वर्चस्व छ । नेपालका उद्योगहरूसँग भण्डार पर्याप्त भएकाले विश्व बजारमा कच्चा पदार्थको मूल्य बढेपछि नेपाली उद्योगले फाइदा लिन सक्ने अवस्था बनेको हो ।

स्वदेशी उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्दै आएका छन् ।

अन्तरराष्ट्रिय बजारबाट नेपालमा कच्चा पदार्थ भित्त्याउन ३ महीना लाग्ने र प्रशोधन गरी निकासी गर्न थप समय लाग्ने उद्यमी बताउँछन् । ‘कच्चा पदार्थको मूल्य उकालो लाग्ने क्रम नरोकिएकाले नेपालको उत्पादन भारततर्फ निकासी सम्भव भएको हो,’ नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले भने ।

आयातकर्ताले सस्तोमा किनेको कच्चा पदार्थ प्रशोधन गरेर मूल्य बढेका बेला बेच्न पाएकाले निकासी सम्भव भएको अन्नपूर्ण भेजिटेबलका सञ्चालक प्रभुदयाल अग्रवालको भनाइ छ ।

भारतले अन्य देशबाट हुने आयातमा साढे ५ प्रतिशत सीमा शुल्क र ५ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) लिन्छ ।

साफ्टा सुविधाअन्तर्गत नेपालबाट भारततर्फ हुने निकासीमा सीमा शुल्क लाग्दैन । भारतीय तेल उद्योग प्रायः बन्दरगाह नजिक भएकाले कच्चा पदार्थ मौज्दात राख्दैनन् ।

मूल्य बढिरहेकै कारण भारतमा उत्पादित तेलको तुलनामा कम मूल्यमा आएको कच्चा पदार्थबाट नेपालमा उत्पादित तेल सस्तो पर्ने अग्रवालले बताए ।

अन्तरराष्ट्रिय बजारमा भटमास र पाम तेलको मूल्य प्रतिमेट्रिकटन १२ सयबाट १९ सय अमेरिकी डलरसम्म पुगेको आयातकर्ता बताउँछन् ।

रूस–युक्रेन युद्धका कारण मूल्यमा थप चाप परेको उनीहरूको भनाइ छ । बितेको १ हप्तामै प्रतिटन १५० डलर भाउ बढेको छ ।

भटमासको दानाको मूल्य २ दिनमै प्रति मेट्रिकटन १२५ डलरले वृद्धि भएको ओसीबी फूडका सञ्चालक सुरेश रुंगटा बताउँछन् ।

‘कच्चा पदार्थको मूल्य बढिरहेको अवस्थामा पाइपलाइनमा रहेको कच्चा पदार्थकै कारण भारत निकासी सम्भव भएको हो । सामान्य अवस्थामा हो भने नेपालबाट तेल निकासी गर्न सकिँदैन,’ रुंगटाले भने ।

नेपालमा २२ ओटा उद्योगले तेल उत्पादन गर्दछन् । तीमध्ये वीरगञ्जमा मात्रै १४ ओटा र अन्य विराटनगर र भैरहवा क्षेत्रमा छन् । ५ ओटा नयाँ उद्योग आउने तयारीमा छन् ।

उद्योगको वार्षिक उत्पादन क्षमता २५ लाख मेट्रिकटन पुगेकोमा स्वदेशी खपत ५ लाख मेट्रिकटनमात्रै रहेको चाचानले बताए ।

‘भारत निकासी गर्न नपाए स्वदेशी उद्योगको लगानी धरापमा पर्ने उद्योगीको दाबी छ । तर, कच्चा पदार्थमा बढ्दो मूल्यको लाभ दीर्घकालीन हुँदैन । सामान्य अवस्थामा निकासी सम्भव छैन,’ उनले भने ।

स्वदेशी आयातकर्ताले कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । त्यसमा १३ प्रतिशत मूल्यअभिवृद्धि कर लाग्छ । आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button