सेना र प्रहरीको पोशाकको कपडामा आत्मनिर्भर, कोहिनुर टेक्सटाइलले थाल्यो उत्पादन
यस्तो कपडा आयातका लागि मात्रै वर्षमा ५० करोड रुपैयाभन्दा बढी रकम बाहिरिएको थियो ।

नेपाली सेना र प्रहरीको पोशाकका लागि अहिलेसम्म बाह्य देशबाट कपडा आयात हुने गरेकोमा अब यस्तो बाध्यता हटेको छ ।
वीरगञ्जको कोहिनुर टेक्सटाइलले सेना र प्रहरीका लागि आवश्यक पोशाकको कपडा उत्पादन गर्न थालेपछि कपडा आयातको बाध्यता हटेको हो ।


क्राउन टेक्सटाइलसँगको सहकार्यका कोहिनुरले यो वर्षदेखि सेना र प्रहरीको पोशाकको कपडा उत्पादन थालेको क्राउनका सञ्चालक पीताम्बर मुनकाले जानकारी दिएका छन् ।
कोहिनुरले यी सुरक्षा निकायका जनशक्तिलाई चाहिने पोशाकका लागि उनीको कपडा यसअघि नै उत्पादन गर्दै आएको थियो ।
यी उद्योगले यो वर्षका लागि नेपाली सेनालाई ६ लाख, नेपाल प्रहरीका लागि २ लाख ५० हजार सशस्त्र प्रहरीका लागि ७० हजार जोडी पोशाकका लागि आवश्यक पर्ने कपडा उत्पादन गर्ने भएको छ ।
यो उद्योगले ५ करोड रुपैयाँ थप लगानीमा प्रिन्टिङ उपकरण र लुप एजर हिटर थपेर यस्तो कपडा उत्पादन गरेको हो ।
नेपालमा उत्पादन हुनुअघि पोशाकको कपडा चीनबाट आयात हुँदै आएको थियो । अब आपूर्तिकर्ताले स्वदेशमै बनेको कपडा आपूर्ति गरिरहेको मुनकाले जानकारी दिएका छन् । यस्तो कपडा आयातका लागि मात्रै वर्षमा ५० करोड रुपैयाभन्दा बढी रकम बाहिरिएको थियो ।
भारतबाट कच्चा पदार्थ भित्र्याएर स्वदेशमै कपडा उत्पादन भएपछि अब यस्तो रकम नेपालमै रहने भएको छ ।
उच्च मूल्यअभिवृद्धिको क्षमता राख्ने कपडा उद्योगले यसबाट रोजगारी सृजनामा पनि योगदान दिन सक्ने दाबी उद्योगका सञ्चालक राजेशकुमार कुशवाहको छ ।