देउवा ओलीसँग नजिकिएपछि प्रचण्ड-माधव तनावमा : के होला सत्ता गठबन्धन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीअनुमोदनका लागि मुख्य विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल तीव्र पारेपछि सत्ता सहयात्री दलहरु सशंकित हुन थालेका छन् ।
देउवाको पछिल्लो सक्रियताले सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दबाबमा परेका हुन् ।


सरकारले संसदमा दर्ता गराएको एमसीसी पास गर्ने विषयमा सत्तामै रहेर माधव-प्रचण्डले असहयोग गरेपछि देउवाले ओलीसँगको निकटता बढाएका छन् । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा खटपट शुरु भइराख्दा देउवा ओली बारम्बार भेटले प्रचण्ड नेपाल पक्षमा तनाव बढेको छ ।
प्रचण्ड र माधव नेपालले एमसीसीमा सहयोग नगरेकोले सत्ता गठबन्धनको औचित्य सकिएको नेपाली कांगे्रकै प्रभावशाली नेताहरुले बताइरहँदा देउवाको सक्रियताले सत्ता गठबन्धनमा आशंकालाई थप बलियो बनाएको हो । देउवा पटकपटक ओलीलाई भेट्न ओली निवास बालकोटमा पुगेका छन् ।
उनले ओलीलाई ंसंसदबाट एमसीसी पास गराउन सहयोग माग्दै आएका छन् । गत भदौदेखि निरन्तर संसद अवरोध गर्दै आएको एमालेका अध्यक्ष ओलीले भने १४ जना सांसदलाई कारवाही वा सभामुखको राजीनामालाई शर्तको रुपमा अघि सारेका छन् ।
बालकोटमा लामो समय छलफल भए पनि प्रधानमन्त्री देउवाले एमसीसीमा साथ दिन प्रचण्ड र नेपाललाई शनिबार दिउँसोसम्मको समय दिएका छन्।
शनिबार दिउँसोसम्म गठबन्धन जोगाएर एमसीसी पास गर्ने विषयमा समझदारी नभए सत्ता गठबन्धन तोड्ने चेतावनी देउवाले दिइसकेका छन्। देउवाको यो चेतावनीले प्रचण्ड र नेपाल तनावमा परेका हुन्।
शुक्रबार राति बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदनको प्रस्ताव राखेका थिए।
बैठकमा सहभागी भएर निस्कने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सुचारु गर्न प्रधानमन्त्रीले अस्ति र हिजो पनि भेट गरेको र त्यसैको निरन्तरताको बैठक भएको बताएका थिए।
ओलीले लोकतन्त्रका लागि संघर्ष गरेका दुई पार्टी लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनु पर्ने बताएको कार्कीले बताए। ‘धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं। लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, त्यसैले लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ’, उनले भने।
ओलीले संसद प्रवेशको बाटो आफूहरुलाई नखुलेको भन्दै खुलाउन आग्रह गरेका थिए। कार्कीले संसद प्रवेशको बाटो खोल्नका लागि सबै दलले आआफ्ना अडान भन्दा राष्ट्रिय हितका निम्ति दुई पाइला अगाडि हिँडन् जरुरी रहेको बताए।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन्।
बालकोटमा भएको भेटपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताए। एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको उनको भनाइ छ।