नेपालको पहिलो अनलाईन मोबाइल एप्लिकेशन नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार देवकोटा नियुक्त भएका छन् ।
नेपाली पात्रोले शुक्रबार एक सूचना जारी गर्दै देवकोटालाई सो पदमा नियुक्त गरिएको जानकारी दिएको हो । देवकोटा यही फेब्रुअरी १३ तारिख विश्व रेडियो दिवसको अवसर पारेर नेपाली पात्रोमा आवद्ध भएका हुन् ।
‘डिजिटल प्रविधिमा निरन्तर १० वर्षको यात्रालाई निरन्तरता दिने क्रममा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ सँग अबको यात्रा तय गर्ने निधो गरेको छु । गत १३ फेब्रुअरी २०२२ का दिनदेखि जिनियस सिस्टम्स प्रालिसँग आवद्ध रही यस लोकप्रिय डिजिटल एपको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्त भएको जानकारी गराउन चाहन्छु,’ देवकोटोले आफ्नो फेसबुक पेजामा लेखेका छन् ।
देशकै आर्थिक राजधानी मानिएको वीरगञ्जबाट सञ्चारक्षेत्रमा प्रवेश गरेका देवकोटा डिजिटल तथा स्मार्ट कम्युनिटी प्लाटर्फमा विगत एक दशकदेखि सक्रिय छन् ।
२०५६ सालमा सार्थक साप्ताहिबाट पत्रकारिता क्षेत्रमा पाइला राखेका देवकोटाले पर्सा एफएम प्रालिबाट २०६० सालदेखि सञ्चालित वीरगञ्जकै रेडियो वीरगञ्ज ९९ मेगाहर्जमा विद्युतीय सञ्चारमाध्यमको लामो अनुभव लिएका छन् ।
रेडियोको अग्रणी संस्था इक्वल एक्सेस नेपालमा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्सांकन विज्ञको रुपमा अनुभव लिएका देवकोटा विगत एक दशकदेखि डिजिटल मिडिया र कम्युनिटी प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहेको नेपाली पात्रोले जनाएको छ ।
बिस २०६३ सालमा सार्वजनिक भएको नेपाली पात्रो २०६६ सालमा गुगलको प्ले स्टोरमार्फत एन्डोइड र एप स्टोरमार्फत एप्पल प्रयोगकर्ताका लागि सार्वजनिक भएको थियो । हाम्रो समय हाम्रो गौरव मूल मन्त्र बनाएको नेपाली पात्रोका ९० लाख प्रयोगकर्ता छन् ।
कम्पनीले अनलाइन, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकहरुसँगको सहकार्यलाई अझ प्रगाढ र नवीन बनाउने विश्वास लिएको छ ।