बदलिँदो राजनीतिक परिदृष्य : ओलीको समर्थन खोज्दै देउवा र प्रचण्ड

सत्ता गठबन्धनका मुख्य दलले एमसीसी पास गर्न सहयोग नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निकटता बढेको छ ।



प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन सहयोगको आग्रह गर्दै ओलीसँज नजिकएका हुन् । सत्ता सहयात्रीले एमसीसीमा सहयोग नगर्ने र सत्ता पनि नछोड्ने दोहोरो चरित्र देखाएपछि देउवा ओली निकटता बढेको हो ।



एमसीसीकै विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन विघटनको सम्भावना बढेको विश्लेषण भइरहेका बेला देउवा ओली निकटताले झन् चासो बढाएको छ ।



संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमै देउवा र ओलीबीच बिहीबार छलफल भएको हो ।
तर, एमाले र कांग्रेसबीच सहमति भने हुन सकेको छैन । एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई कारवाहीलगायतका आफ्ना पुराना अडान कायमै राखेका छन् ।
एमसीसीलाई संसदमा छलफलमा लैजान कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।
एमसीसीमा सहमति जुटाउन आजको बैठक सारेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँग वार्ता थालेका हुन् । देउावाले यसअघि पनि ओलीसँग बारम्बार यसबारेमा वार्ता गरेका छन् ।
उता सत्ता गठबन्धन धरापमा पर्ने अवस्थामा पुगेपछि माओवादी केन्द्र पनि एमाले फकाउन लागेको छ । माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग एजेण्डा मिल्ने विषयमा सहकार्यको प्रस्ताव गरेका छन् ।