वीरगञ्ज महानगर पर्यटन प्रवद्र्धनमा अग्रसर, ५ लाख सहयोग

वीरगन्ज महानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने पर्सा राष्ट्रिय निकुञ्ज साईक्लिङमा सहयोग गरेको छ ।



जैविक विविधता तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण बढाउनका लागि नेपाली सेनाको सिद्धीबक्स गण, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटन व्यवसायी संघ बारा, टुर एण्ड ट्रार्भल एशोसिएसन (नाटा) लगायतको संयुक्त आयोजनामा हुन लागेको साईक्लिङमा वीरगन्ज महानगरपालिकाले पनि सहभागिता जनाएको हो ।



सोमबार आयोजक समितिका टोलीसँग महानगरपालिका नगर प्रमुखकै कार्यकक्षमा भएको भेटघाटमा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वीरगन्ज महानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जमा हुने पर्यटन प्रवद्र्धन कार्यक्रममा पनि सहयोग गर्ने प्रतिवद्धता नगर प्रमुख सरावगीले जनाउनुभयो ।



नेपाली सेनाको अगुवाई, मधेस प्रदेश सरकारको नेतृत्व, स्थानिय सरकार÷निकायहरु र गैर सरकारी संघ संस्थाहरुको सहयोग तथा सहकार्यमा संचालन गरिएको विरगञ्ज म्याराथुन– २०७६ जस्तै यसपटक पर्सा राष्ट्रिय निकुञ्जमा साईक्लिङ प्रतियोगिताको आयोजना हुने भएको छ ।
सोही कार्यक्रमका लागि महानगरपालिकाले आर्थिक सहयोग गरेको नगर प्रमुख सरावगीले बताउनुभयो । साथै आधाभार–हात्तिसार जंगल फायरलेन क्रस कन्ट्री ५५ कि.मी. साईक्लिङ्ग कार्यक्रम–२०७७ मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई आकर्षण गर्न सकेमा त्यस आसपासमा रहेका अन्य पर्यटकीय गन्तव्यहरुको पनि विकासमा सहयोग पुग्ने तथा वीरगन्ज मुख्य नाका भएकोले यहि नाका भएर भारतीय पर्यटकहरु आउने भएकोले वीरगन्जले त्यसको उपयोग गर्ने अवसर पाउने पनि महानगर प्रमुख सरावगीले बताउनुभयो ।
महानगरपालिकाले नगर क्षेत्रको मात्रै होईन महानगर आसपासका क्षेत्रहरुमा पनि पहुँच बढाउन सकेमा महानगरपालिकाले पनि फाईदा लिन सक्ने नगर प्रमुख सरावगीको भनाई छ ।
वीरगन्ज महानगरपालिका पर्यटकीय गन्तव्यहरुको विकासका लागि अघि बढेको बताउदै नगर क्षेत्रमा रहेका साना साना पर्यटकीय स्थलहरुको पूर्वाधार संरचना निर्माण गर्दै ठूला पर्यटकीय गन्तव्य स्थलहरुसँग सञ्जाल बनाएर वीरगन्जको विकासमा सहभागिता गराउने महानगरको उद्देश्य रहेको बताउनुभयो ।
महानगर प्रमुख सरावगीसँग छलफलमा बसेको टोलीमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, नेपाली सेनाको सिद्धीबक्स गण आधाभारका मेजर कमानसिंह गुरुङ, हाटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका महासचिव मोहन शर्मा, नेपाल ट्राभल एण्ड टुर्स एशोसिएसन मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लगायतको सहभागिता रहेको महानगर सल्लाहाकार गोविन्द देवकोटाले जानकारी दिनुभयो ।