No Image Headlineअर्थमुख्य खबर

समुद्रपार पारवहन : बढ्यो प्रतिस्पर्धा, घटेन सकस

भारतीय बन्दरगाहमा थुप्रिए ४००० कन्टेनर

Thrill Factory
Rungta Group

नेपालका लागि तेस्रो मुलुकबाट आएका कन्टेनर भारतीय समुद्री बन्दरगाहमा थुप्रिन थालेपछि त्यहाँको सरकारले मातहतका निकायलाई सहजीकरणको निर्देशन दिएको छ ।

भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) ले भारतीय बन्दरगाहबाट नेपालका लागि कन्टेनर ढुवानी गर्ने सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको हो ।

बोर्डले भारतीय कन्टेनर निगम (कोन्कर), प्रिस्टाइन मेगा लजिस्टिक पार्क र इन्टरनेशनल कार्गो टर्मिनल एन्ड इन्फ्रास्ट्रक्चरलाई गत हप्ता निर्देशन दिएको छ । बोर्डले नेपालका लागि ढुवानी हुने कार्गोका लागि आवश्यक रेल रेक उपलब्ध गराउन भनेको हो ।

नेपाल–भारत रेल सेवा सम्झौता संशोधनपछि कन्टेनर ढुवानीमा निजी कम्पनीको प्रवेशसँगै पारवहन लागत घट्ने अपेक्षा गरिएको थियो । तर, यस्ता सेवा प्रदायकबीच अस्वस्थ प्रतिस्पर्धा बढेपछि यतिबेला स्वदेशी आयातनिर्यात त्यसको मारमा परेको छ ।

गत असार १५ मा रेल सेवा सम्झौता संशोधन भएको थियो । भदौ ३० मा पहिलोपटक भारतीय निजी रेल वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको थियो । त्यसअघि नेपालका लागि कन्टेनर ढुवानीमा कोन्करको एकाधिकार थियो ।

अहिले भारतीय बन्दगाहबाट कोन्करसहित चारओटा कम्पनीले ढुवानी सेवा दिइरहेका छन् । प्रतिस्पर्धी कम्पनी भित्रिएपछि कोन्करले भाडा र रेल रेक संख्या स्वात्तै घटाएपछि ढुवानी समस्याग्रस्त बनेको हो ।

भारत सरकारको लगानी रहेको कोन्करले रेल भाडा ३० देखि ३५ प्रतिशतसम्म घटाएको थियो । त्यसअघि कोन्करकै हाराहारीमा भाडा तोकेका अन्य निजी कम्पनी पनि भाडा घटाउन बाध्य भए ।

तर, पूर्वाधारमा निजी कम्पनीभन्दा निकै बलियो कोन्करले रेक संख्या पनि घटाइदिएपछि ढुवानी समस्याग्रस्त बन्न पुगेको हो । अहिले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमध्ये ९० प्रतिशत ढुवानी कोन्करको हातमा छ ।

प्रतिस्पर्धी निजी कम्पनीको पूर्वाधार कोन्करको तुलनामा निकै कमजोर मानिन्छ । कोन्करले रेक कटौती गर्ने र प्रतिस्पर्धीले आवश्यकताजति उपलब्ध गराउन नसक्दा भारतीय बन्दरगाहमा कन्टेनर थुप्रिएको थियो ।

ढुवानीमा प्रतिस्पर्धा बढेपछि पारवहनले त्यसको लाभ लिने अपेक्षा गरिएको अवस्थामा रेक नपाएर डेढ/दुई महीना बन्दरगाहमै कन्टेनर रोकिने अवस्था आएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

‘कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलगायत निकायमा पत्राचार पनि गरेका छौं । तर, अहिले पनि समस्याको अपेक्षित निकास छैन,’ गुप्ताले भने ।

नेपालले समुद्रपार व्यापारमा भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाह प्रयोग गर्दै आएको छ । अहिले रेल रेकको अभावमा ती बन्दरगाहमा कन्टेनर थुप्रिने समस्या बढेर गएको छ ।

केही दिनअघि कोलकातामा भोगेको यस्तो समस्या आयातकर्ताले अहिले विशाखापत्तनममा झेलिरहेको गुनासो संघका सचिवसमेत रहेका आयातकर्ता आशिष लाठले गरे ।

एक महीनाअघि कोलकातामा देखिएको समस्यामा कोन्करका अधिकारीहरूसँग समन्वय गरेर समाधान निकालिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए ।

नेपालका लागि आउने कुल कन्टेनरमध्ये अधिकांश अंश ढुवानी गर्ने कोन्करले रेक संख्या घटाएपछि समस्या भएको पौडेलको पनि बुझाइ छ ।

नेपालका लागि वर्षमा करीब सवा लाख कन्टेनर मालसामान भित्रिन्छ । अहिले विशाखापत्तनम् बन्दरगाहमा करीब ४ हजार कन्टेनर रोकिएका छन् । कोलकाताको तुलनामा दोब्बर दूरीमा रहेको यो बन्दरगाह अहिले आयातकर्ताको पहिलो रोजाइ बनेको छ ।

दूरी बढी भए पनि ठूला पानीजहाज आउने भएकाले समय र लागत कम पर्दा आयातकर्ता उतै आकर्षित भएका हुन् । तर, अहिले ढुवानी सेवाप्रदायकबीचको तानातानले आयात समस्याग्रस्त बनेको आयातकर्ता प्रदीप केडिया बताउँछन् ।

अन्य कम्पनी प्रतिस्पर्धाका आउनुअघिसम्म बढी नाफामा काम गरिरहेको थियो । निजी कम्पनी भित्रिनुअघि वीरगञ्ज बन्दरगाहसम्मको ढुवानीमा कोन्करले प्रति कन्टेनर भारतीय रुपयाँ (भारू) १२ हजार नाफा कमाउने गरेको थियो ।

प्रतिस्पर्धी कम्पनीलाई दबाबमा राख्न भाडा कटौतीले नाफा पनि खुम्चिएको छ । अहिले प्रति कन्टेर भारू ५ हजारमात्रै नाफा हुने ती कम्पनीहरूले बताएका छन् ।

कोन्करले बढी नाफा हुने भारतकै अन्य क्षेत्रमा रेक पठाएर नेपालका लागि कटौती गरेको हो ।

‘पहिला ढुवानीमा हाम्रोमात्र जिम्मेवारी हुँदा जसरी पनि रेक पठाउनुपर्ने बाध्यता थियो । अब हाम्रोमात्रै दायित्व रहेन । त्यसैले अब स्वाभाविक रूपमा जता बढी नाफा हुन्छ, त्यतै रेक दिन्छौं,’ कोन्करका एक उच्च अधिकारीले भने ।

यसअघि कोन्करले नेपालका लागि महीनामा ६५ रेकसम्म उपलब्ध गराएकोमा गत जनवरीमा अन्य कम्पनीसहित कुल संख्या आधामा झरेको थियो । फेब्रुअरी महीनामा आइतवारसम्म तारीखसम्म यो संख्या ३८ पुगेको थियो ।

अहिले चारओटा कम्पनीले कन्टेनर ल्याउँछन् । अन्य निजी कम्पनी नेपालका लागि रेक थप्ने दबाबमा छन् । प्रिस्टाइनले यही महीनामा रेक थपेर १३ ओटा पुर्‍याउने प्रस्टाइन भ्याली ड्राइपोर्टका कार्यकारी निर्देशक बी मोहनले बताए ।

प्रिस्टाइन मेगा लजिस्टिक पार्कको मुख्य लगानी रहेको प्रिस्टाइन भ्यालीले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको छ। आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button