एमसीसी संसदबाट कसरी पास हुन्छ ? यस्तो छ संवैधानिक प्रक्रिया

संविधानको धारा २७९ मा नेपाल पक्ष राष्ट्र भएका सन्धि, सम्झौता संसद् सङ्घीय कानुनअनुसार अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।



संविधानको धारा २७९ को उपधारा २ मा ‘शान्ति र मैत्री सन्धि, सुरक्षा एवम् सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँडसम्बन्धी सन्धि सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ ।



उपधारा २ मा शान्ति र मैत्री सन्धि र प्राकृतिक स्रोत तथा त्यसको उपयोग र बाँडफाँडसम्बन्धी सन्धि सम्झौता राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर पर्ने किसिमको नभए प्रतिनिधि सभाको साधारण बहुमतबाट पास गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।



सरकारले एमसीसीलाई दीर्घकालीन असर नपार्ने किसिमको सम्झौताका रूपमा अर्थ्यायर संविधानअनुसार प्रतिनिधि सभाको सामान्य बहुमतले पास गर्ने तयारी गरेको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा अहिले २७१ सांसद छन् । नेकपा एमालेका ९७, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एकीकृत समाजवादीका २४, जनता समाजवादी पार्टीका २१, लोकतान्त्रिक समाजवादी पार्टीका १३ सांसद छन् । त्यस्तै, नेमकिपा, राप्रपा र राष्ट्रिय जनमोर्चाका एक/एक र एक जना स्वतन्त्र सांसद छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले बैठक बहिष्कार गरेको तथा एमालेको नाराबाजी चालु रहेको अवस्थामा सभामुखले निर्णायार्थ पेस गरेर ध्वनि मतबाट पारित भएको घोषणा हुनसक्छ । एमालेले यसअघिजस्तै नाराबाजीमा मात्रै सीमित हुन्छ कि विपक्षमा भोट हाल्छ भन्ने निश्चित छैन ।