No Image Headlineअर्थ

वीरगञ्जका व्यवसायी भन्छन्– सरकारी नीतिले तरलता संकट झन् बढ्यो

बढ्दो आयात नियन्त्रणका लागि ४७ ओटा एचएस कोडमा पर्ने वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरिएपछि व्यापारमा सकस थपिएको निजीक्षेत्रले बताएको छ । आयात नियन्त्रणका नाममा लिइएको नीतिले उल्टै त्यस्ता वस्तुको मूल्यमा दबाब पर्ने र लगानीयोग्य रकम (तरलता) संकट चर्किने उद्यमी व्यावसायीले बताएका छन् ।

आयातमा ५० देखि शतप्रतिशतसम्मको नगद मार्जिनका कारण साना आयातकर्ता बढी प्रभावित भएको र यसले बजारमा ठूला व्यवसायीको मनपरी चल्ने वातावरण बनेको दाबी व्यावसायीहरूकै छ । बजारमा त्यस्ता वस्तुको अभाव हुने र उपभोक्ता मूल्यवृद्धिको मारमा पर्ने ती व्यापारहरूले बताए ।

तरलता संकटको नाममा एकातिर ब्याजदरको दबाब र अर्कातिर राष्ट्र बैंकद्वारा आयातमा गरिएको नगद मार्जिनको व्यवस्थाले व्यापार व्यवसाय नै धराशयी हुने अवस्थामा पुगेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । अध्यक्ष गुप्ताले समस्याको तत्काल निकासको माग गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले गत माघ २६ गते वाणिज्य बैंकहरूलाई निर्देशन जारी गर्दै विदेशी मालसामानको आयातमा थप कडाइ गर्न भनेको थियो । त्यसअघि १८ प्रकारका कोडमा आउने वस्तुमा नगद मार्जिन राख्नुपर्ने सूचना निकालेको केन्द्रीय बैंकले यस्तो व्यवस्था लागू हुने वस्तुको वर्ग ४७ पुर्‍याएको थियो ।

कोरोनामा महामारीका कारण समस्यामा परेको उद्योग व्यापार क्षेत्रलाई राहत दिन खुकुलो नीतिको खाँचो परेका बेला सरकारले समस्या थप्ने काम गरेको गुप्ताले बताए । ‘अर्थतन्त्र सुधारको दीर्घकालीन नीति लिनुको सट्टा आयात नियन्त्रणजस्तो घातक उपायमा उत्रिएर निजीक्षेत्रलाई अप्ठेरोमा पर्ने काम गरिएको छ । यसबाट आर्थिक अवस्था झन् बिग्रिएर जाने निश्चित छ,’ उनले भने ।

नगद मार्जिनको व्यवस्थाले अहिले देखिएको तरलताको संकटलाई झन् पेचिलो बनाउने दाबी संघका सचिव आशिष लाठको छ । ‘व्यवसायीले वस्तु आयात गर्दा बैंकमा नगदै जम्मा गर्नु परेपछि यसले तरलता संकटलाई त झन् चर्काउँछ । सरकारले नचाहिने वस्तुको आयात रोके हुन्छ । तर, नगद मार्जिनले बजार अराजकता बढाउँछ,’ लाठले भने ।

यो नीतिले वैदेशिक व्यापारमा केही ठूला व्यापारीको मनपरी चल्ने र साना व्यवसायी बाध्य भएर अनधिकृत आयातको बाटोमा लाग्ने दाबी केही व्यापारीहरूको छ ।  विगत २ वर्षदेखि कोभिड–१९ बाट थलिएको उद्योग व्यापार समस्यामा परेका बेला निजीक्षेत्रलाई त्राण दिनेतर्फ सरकारी भूमिका केन्द्रित हुनुपर्नेमा संकट थप्ने कार्य भएको संघको विज्ञप्तिमा उल्लेख छ ।

नगद मार्जिनको प्रावधानले वैदेशिक मुद्राको सञ्चिति र तरलता सुधारमा खासै सकारात्मक परिवर्तन नआउने दाबी उद्यमीहरूको छ । यो नियम घुमाइफिराइ बैंक तथा वित्तीय संस्थालाई फाइदा हुनेगरी ल्याइएको दाबी संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालको छ । नगद मार्जिनका कारण यस्ता वस्तुको अभाव र मूल्यवृद्धिको मार उपभोक्तामाथि नै पर्ने तर्क उद्यमी लाठको छ ।

यसैगरी भन्सारले राजस्वको भुक्तानी अनलाइनबाटै लिन थाले पनि बैंकहरूले आयातमा मार्जिन डिपोजिट लिन नछाडेको आयातकर्ताले बताएका छन् । गत माघ १२ देखि भन्सारमा अनलाइन राजस्व भुक्तानी प्रणाली लागू भएको छ ।

भन्सारको पत्रअनुसार बैंकहरूले राजस्व भुक्तानीका लागि चेक जारी गरेका छैनन् । तर, अग्रिम भुक्तानी सरह आयातकर्ताको खाताबाट १० प्रतिशत रकम रोक्का वा कट्टा गर्दै आएका छन् । यसमा बैंकले ब्याज आम्दानी गरिरहेका छन् ।

मालसामान आयात गर्दा बैंकले राजस्व भुक्तानी प्रयोजनका लागि मार्जिन डिपोजिटबापत आयातकर्ताको लिमिटबाट रकम रोक्का गर्दै आएका छन् । यस्तो रकममा व्यवसायीले ब्याज तिर्नु पर्दछ ।

प्रिमियममा मनपरी
बैंक र ऋणीबीच ऋण सम्झौता हुँदा ऋणमा लाग्ने प्रिमियम दर सम्झौता हुँदाकै बखत तोकिएको भए पनि बैंकहरूले त्यसमा मनपरी गरेको आरोप संघको विज्ञप्तिमा उल्लेख छ । ‘बेस रेटमा त्रैमासिक पुनरवलोकन हुने गर्दछ । यसबीचमा प्रिमियम दर फेरबदल गर्न मिल्दैन । तर, अहिले बैंकहरूले सम्झौताविपरीत प्रिमियम दर ३ देखि ४ प्रतिशतसम्म बढाएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

भन्सारमा मालसामान आइसकेपछि प्रतीतपत्र र डीएपी काजजात छुटाउने बेला दबाब दिएर बैंकहरूले प्रिमियम बढाउने गरेको व्यवसायी नवनीत अग्रवालले बताए । उनका अनुसार ऋणीले नयाँ प्रिमियम दरको सम्झौता हस्ताक्षर नगरेसम्म बैंकले डकुमेन्ट नै दिँदैनन् ।

आधार दर र प्रिमियमको शर्त बैंक र ऋणी दुवैलाई सहजताका लागि ल्याइएको भए पनि बैंकहरूले अन्यायपूर्ण तरिकाले प्रिमियम बढाएर यसको भार ऋणीहरूमाथि पारेको व्यवसायीको गुनासो छ ।

यस्तै अर्थ व्यवस्था परिचालन गर्ने अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच कतिपय विषयमा समन्वयको अभाव देखिएको उद्योगी व्यवसायीले बताएका छन् ।

यसको प्रभाव उद्योग व्यापारमा परेको संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् । कुनै पनि नीति र निर्णय लिँदा अर्थ मन्त्रालय र केन्द्रीय बैंकबीच समन्वय हुनुपर्ने माग व्यवसायीको छ ।

गणना छ, छैन सहुलियत
बैंक तथा वित्तीय संस्थाले कुल लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान छ । यो शीर्षकको ५ करोड रुपैयाँसम्मको लगानीमा शून्य प्रतिशत र ५ करोड रुपैयाँभन्दा माथिको लगानीमा २ प्रतिशत मात्र प्रिमियम लिन पाउने प्रावधान छ ।

बैंकहरूले कृषि क्षेत्रको लगानीको गणनामा कृषिमूलक उद्योग र व्यापारको क्षेत्रमा गरिएको कर्जा प्रवाहलाई समावेश गरे पनि त्यस्ता उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई ब्याजमा सहुलियत नदिएको उद्योगीले बताए । कृषिका उद्योग तथा व्यापारमा ऋण दिएको देखाइएमा सहुलियत पनि पाउनुपर्ने उद्योगी विश्वामित्रप्रसाद कलवारले बताए ।

तरलता संकट समाधानका सूत्र
तरलताको अभावले उद्योग व्यापारमा कठिन अवस्था उत्पन्न भएको भन्दै समाधानमा सरकारले प्रभाकारी कदम चाल्नुपर्ने सुझाव संघले दिएको छ ।

नेपालमा विप्रेषणको अधिकांश हिस्सा अनौपचारिक मार्गबाट भित्रिने गरेको र त्यसरी भित्रिने रकम अनुत्पादक क्षेत्रमा लगानी भइरहेको संघले बताएको छ । औपचारिक माध्यमबाट विप्रेषण नेपाल भित्रिने संयन्त्र तथा नियमको व्यवस्था गरिनुपर्नेमा संघले जोड दिएको छ ।

सरकारको ढुकुटीमा जम्मा हुने राजस्व बजारमा आएमात्रै तरलता सहज हुने भएकाले पूँजीगत खर्च प्रभावकारी बनाउन माग गरिएको छ ।

यस्तै उद्योग लगातार ५ वर्ष घाटामा गएमा त्यस्तो उद्योगले लिएको ऋणको ५ प्रतिशत रकम कट्टा गरी राख्ने प्रक्रियाले उद्योगलाई झन् समस्या परेकाले घाटामा गएका उद्योगलाई निगरानीमा राख्ने प्रवाधान खुकुलो बनाउनुपर्ने पनि उद्यमीहरूले बताएका छन् ।आर्थिक अभियान

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button