
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै घरजग्गामा गरिने लगानी माथी थप कडाइ गरेको छ ।
प्लटिङका लागि ऋण लगानी गर्न निरुत्साहित गरेको राष्ट्र बैंकले हाउजिङ डेभलपरहरुले गर्ने प्लटिङलाई पनि एउटै कोटरीमा राखेको छ ।यसरी हाउजिङ डेभलपरलाई निरुत्साहित गर्दा योसँग जोडिएका धेरै व्यवसाय पनि धरासयी हुन सक्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।


‘घरजग्गा अनुत्पादक क्षेत्र हो भने घर बनाउँदा चाहिने सिमेन्ट, डण्डी, ईट्टा, गिट्टीबालुवा, हार्डवेयर, बिजुली, पेन्टस्, फर्निचर, आल्मुनियम लगायतका दर्जनौ उत्पादनहरु प्रभावित हुन्छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका घरजग्गामा कडाइ गर्दा मजदूरदेखि उद्योगी सम्म सबै प्रभावित हुने बताउँछन् ।
घरजग्गासँग दर्जनौ उद्योग जोडिने भन्दै निर्माणको काम ठप्प हुँदा सिमेन्ट, डण्डी, ईट्टा लगायतका उद्योग शुरुमै ठोक्किने उनले बताए ।
पछिल्लो एक दशक नेपालको अर्थतन्त्र नै घरजग्गा र रेमिट्यान्सबाट चलेको छ । यो क्षेत्रमा कडाइ गर्ने हो भने सरकारले अन्यत्र लगानीको वातावरण बनाइदिनु पर्ने उनको भनाई छ ।
अहिले पर्यटन उद्योगका लागि भनेर लिएको कर्जा पनि घरजग्गामै प्रयोग भइरहेको छ । ऊर्जाका लागि लिएको कर्जा पनि घरजग्गामै प्रयोग भइरहेको छ । नीति निर्माण गर्नेहरुले हामीलाई घरजग्गा होइन यो क्षेत्रमा लगानी गर तिम्रो लगानी सुरक्षित हुन्छ भनेर देखाइ दिए घरजग्गा व्यवसायीहरु पनि यो क्षेत्रमा टाँसि नरहने सरोकारवालाको भनाई छ ।
रेमिट्यान्स घट्नुका साथै घरजग्गाको कारोबार पनि घटिरहेकोले अहिले अर्थतन्त्रमा चाप परेको छ । यस्तो अवस्थामा घरजग्गाको कारोबार बढाउने गरी कर विभिन्न नीतिहरु आउनु पर्नेमा उल्टै कडाइ गर्दा, कारोबार झन खुम्चिने र यसले अर्थतन्त्र पुरानै अवस्थामा आउन झन कठिन हुने पनि वाग्लेले बताए ।
कोभिड महामारीको बेला कुनै पेशा व्यवसाय शुरु गर्न सकिन्न भन्ने जान्दा जान्दै बैंकहरुले घरघरमा गएर कर्जा दिएको परिणाम अहिले भोग्नु परेको एक व्यवसायीले बताए । अहिले घरजग्गा क्षेत्रमा संकट आउनुमा जथाभावी ऋण दिने बैंकहरु सबैभन्दा दोषी भएको उनको भनाई छ ।
राष्ट्र बैंक स्रोतका अनुसार अहिले बैंकले घरजग्गा क्षेत्रका सबै व्यवसायीलाई एउटै निर्देशन दिएको छ । भविष्यमा यो क्षेत्रमा कडाइ हुँदै छ थप लगानी गर्दा जोखिम हेरेर मात्रै काम गर्नु है भन्ने सन्देश दिन खोजेको छ ।
भोलि निर्देशिका जारी गर्दा बैंकले क्षेत्र तोकेर कर्जा रोक्नुका साथै धितो मूल्याङ्कनको प्रतिशत पनि घटाइ दिन सक्ने स्रोतको भनाई छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठ भने अहिले राष्ट्र बैंकले एकल रुपमा गरिने जग्गा प्लटिङलाई मात्रै निरुत्साहित गर्न खोजेको बताउँछन् ।
संस्थागत रुपमा हाउजिङ विकास गर्ने र पहिलो पटक घर किन्नेहरूलाई निरुत्साहित गर्नुहुँदैन भन्नेमा छलफल भइरहेका छन् । निर्देशिका जारी गर्दा नियमन समितिमा पनि यो विषयमा थप छलफल हुने उनले बताए ।
तर व्यक्तिगत रुपमा प्लटिङ गर्नका लागि दिइने कर्जामा भने कडाइनै गरिएको हो । उनीहरुले अव कर्जा नपाउन सक्छन् ।