विश्वमै पहिलो पटक एचआईभी उपचार !

एक अमेरिकी महिला एचआईभी सङ्क्रमणबाट मुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएको ठानिएको छ।



रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ।



उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन्।



तर विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्।
बिरामीको उपचार गरिएको यो विषय मङ्गलवार डेन्भरस्थित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो। एचआईभीको उपचारमा यो विधि प्रयोग गरिएको पहिलो पटक सार्वजनिक भएको हो।
क्यान्सरको उपचारका लागि नाइटोबाट रगत प्रत्यारोपण गरिएको ती महिलालाई एचआईभीको उपचारका लागि एन्टीरेट्रोभाइरल थेरापी आवश्यक परेको थिएन।
अमेरिकामा एचआईभी सङ्क्रमित मानिसहरूमा क्यान्सर र अन्य गम्भीर रोगको उपचारका लागि उस्तै प्रकारको रगत प्रत्यारोपण विधि प्रयोग गरेर भएका उपचारबारे गरिएको व्यापक अध्ययनमध्ये यो उपचार पनि एक थियो।
प्रत्यारोपणका लागि छानिएका कोषहरूमा आनुवंशिक उत्परिवर्तन थियो, जसको अर्थ ती कोषहरू एचआईभीबाट सङ्क्रमित हुँदैन थिए।
परिणामस्वरूप यस्तो प्रत्यारोपण पाएका मानिसहरूमा एचआईभीविरुद्ध प्रतिरोधी क्षमता विकास हुने वैज्ञानिकहरूको विश्वास छ।
एचआईभीको यसअघिका दुई वटा उपचारमा बोनम्यारो प्रत्यारोपणको प्रक्रियाबाट वयस्क स्टेम कोषहरू बिरामीको शरीरमा राखिएको थियो।
नाइटोबाट दिइने रगत यसअघिको उपचारमा प्रयोग भएका वयस्क स्टेम कोषहरूभन्दा धेरै पाइने र यसका लागि दाता र प्रत्यारोपण गरिने व्यक्तिबीच धेरै मेल हुनुपर्ने बाध्यता पनि नहुने बताइएको छ।
अन्तर्राष्ट्रिय एड्स सोसाइटीको अध्यक्षमा निर्वाचित सरोन लुइन यो प्रत्यारोपण उपचार विधि एचआईभी सङ्क्रमण भएर बाँचिरहेका अधिकांश मानिसहरूका लागि व्यवहारिक नभएको बताउँछिन्।
तर उनले यसले एचआईभीको उपचार सम्भव भएको र यसको उपचारमा आनुवंशिक थेरापीलाई व्यवहारिक रणनीतिको रूपमा सबलीकरण गर्ने बताइन्।
सबैभन्दा पछिल्लो अध्ययनबाट पत्ता लागेका कुराहरू पियर रिभ्यू हुने जर्नलहरूमा प्रकाशित हुन बाँकी नै रहेका कारण वैज्ञानिकहरूले यसबारे धेरै बुझ्न पाएका छैनन्।
बीबीसीका स्वास्थ्य तथा विज्ञान सम्वाददाता जेम्स ग्यालहरका अनुसार एचआईभी सङ्क्रमण भएका विश्वभरका तीन करोड ७० लाख मानिसहरूलाई यो विधिको उपचारले समेट्ने सम्भावना न्यून छ।
भाइरसलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने खोप र औषधिको विकासले मात्रै एचआईभी उपचारमा आशा जगाउने उनी ठान्छन्।