बैंक तथा वित्तीय संस्थामा निस्कृय कर्जाका कारण ब्याजदर बढ्यो-विश्व बैंक

बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जाका कारण पारदर्शिताको कमी आएको र सबैभन्दा कमजोर घरपरिवार र व्यवसायहरूका लागि ऋणमा अझैसम्म पहुँच पुग्न नसेकको विश्व बैंकले उल्लेख गरेको छ ।
विश्व बैंकले ‘वर्ल्ड डेभलपमेन्ट रिपोर्ट’ सार्वजनिक गर्दै विकासोन्मुख देशहरूले वित्तीय क्षेत्रलाई थप स्वस्थ बनाएर पुनरुत्थानका लागि ध्यान दिनुपर्नेमा जोड दिएको हो ।


बैंक तथा वित्तीय संस्थाहरूले निष्क्रिय कर्जाको अंश घटाउनुपर्नेमा विश्व बैंकको जोड छ । यसले पूँजीकृत गर्न र विशेष गरी न्यून आय भएका घरपरिवार र साना व्यवसायहरूलाई ऋण उपलब्ध गराउन सहयोग पुग्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
महामारीले अर्थतन्त्रमा पारेको असरका कारण सार्वजनिक ऋण अझै बढ्न सक्ने विश्व बैंकले औंल्याएको छ । संकटको परिणामस्वरूप आय र राजस्वमा गम्भीर संकुचन भए पनि निष्क्रिय कर्जाको अंश अपेक्षाभन्दा कम रहनु सकारात्मक रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।पछिल्लो समय ब्याजदर र मुद्रास्फीति दर निरन्तर बढेका कारण कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप चुनौती थपिरहेको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ ।
कोभिड–१९ ले स्वास्थ्य संकट निम्तिएको र आर्थिक वृद्धिदरमा ठूलो धक्का पुगेको प्रतिवेदनमा उल्लेख छ । कोभिडले गरीबी दर बढाउनुका साथै असमानता बढाएको बताइएको छ । प्रतिवेदन अनुसार सरकारले लिएका अल्पकालीन नीतिहरू प्रभावकारी हुँदा कोभिडबाट धेरै ठूलो क्षति भने भएको छैन ।