कोभिड खोप: ११ अर्ब उत्पादन, विश्वका ४० प्रतिशतले एक मात्रा पनि पाएनन्

यो साता विश्वभर खोप किन्न नसक्ने देशहरूलाई दान दिइएको खोपको मात्रा एक अर्ब पुगेको छ। तर अझै विश्वको ४० प्रतिशत जनसङ्ख्याले खोपको कुनै पनि मात्रा पाउन सकेको छैन।



अहिलेसम्म विश्वमा ११ अर्ब मात्रा खोप उत्पादन भएको छ जुन सबै वयस्क जनसङ्ख्यालाई दुई मात्रा दिन सकिने सङ्ख्या हो। त्यसो भए के गलत भयो जसले गर्दा यथेष्ट खोप भए पनि झन्डै आधाले खोप नै पाएनन्?



“अहिले पनि ७० प्रतिशतभन्दा धेरै खोप जी-ट्वेन्टी समूहका देशमा गइरहेको छ जसको अर्थ अन्य १७५ देशले त्यो गुमाइरहेका छन्,” विश्व स्वास्थ्य सङ्गठनको दूत रहेका यूकेका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले भने।



फलस्वरूप अधिकांश धनी देशहरूले आफ्नो जनसङ्ख्याको ६० प्रतिशतभन्दा धेरैलाई खोप दिइसकेका छन्। कम आय भएका देशमा भने खोप पाउनेको औसत प्रतिशत १० छ।
कोभ्याक्स अभियान सन् २०२० मा गरिब देशहरूलाई खोपमा समान पहुँच दिन सकियोस् भनेर खडा गरिएको छ। तर गत वर्षको पहिलो छ महिना खोप पाउनका लागि उग्र प्रतिस्पर्धा भयो। धनी देशहरूले आफ्ना भाग सुरुमा माग्न थाले।
सन् २०२१ को एप्रिलमा यूकेले भारतमा रहेको उत्पादन कम्पनीबाट पचास लाख आस्ट्राजेनेका माग्यो। तर मे महिनामा भारतमा कोभिडका कारण दैनिक जसो ४,००० मानिसहरूले ज्यान गुमाउन थाले। त्यसपछि भारतले निर्यात प्रतिबन्ध लगायो।
यी सबै कुरा चलिरहँदा कोभ्याक्सले धनी देशलाई धेरै भएर नचाहिने खोपहरू दान दिन सक्ने अवस्थामा रहेको थाहा पायो। तर त्यसको आपूर्ति प्रणाली भने अस्तव्यस्त थियो।
“पहिलो चरणमा गत वर्ष केन्याले ३० लाख मात्रा ल्याउन खोजे पनि ११ लाख मात्र ल्याउन सक्यो, त्यसपछिको तीन महिना उसले केही पनि पाएन,” नैरोबिमा रहेको अफ्रिकी जनसङ्ख्या र स्वास्थ्य अध्ययन केन्द्रकी डा. क्याथेरिन क्योबुटुङ्गीले भनिन्।
केन्याले आफ्नो खोप कार्यक्रमको योजनालाई कैयौँ पटक परिवर्तन गर्दै आपूर्ति प्रणाली अनुकूल गरायो। खोप अभियानलाई त्यसले गम्भीर असर पारेको क्योबुटुङ्गी ठान्छिन्।
“जब मानिसहरू खोप लिनका लागि तयारी अवस्थामा थिए, उनीहरू फर्कन बाध्य भए। कोसँग तीन ठाउँ गएर खोप लिने फुर्सद छ?”
अक्टोबर र नोभेम्बर महिनामा अन्ततः ठूलो मात्रामा खोप आउन सुरु भयो। तर त्यसको केही महिनापछि मात्र नैरोबीको खोप दर ४० प्रतिशत पुग्यो।
केन्याको कयौँ ग्रामिण भागहरूमा त्यो पाँच प्रतिशत हाराहारीमा मात्र थियो। ज्यानुअरीमा युगान्डाले आफूले प्राप्त गरेको पाँच लाखमध्ये चार लाख मात्रा खोप नष्ट गर्नुपर्यो।
किनकि त्यसको म्याद सकिनुअघि त्यो बाँड्न सम्भव भएन। डिसेम्बरमा नाइजीरियाले १० लाख मात्रा खोप नष्ट गर्दै कम समय म्याद भएका खोप नलिने घोषणा गर्यो।
दान दिइएका एक अर्बको एक तिहाईजति खोप अहिलेसम्म मानिसहरूलाई दिइएको छैन। कति खोप काम लागेनन् भन्ने अझै स्पष्ट छैन।
केही अफ्रिकी देश आफ्नो खोप किन्न प्रयासबाट समेत चिन्तित छन्। कोभ्याक्स कार्यक्रमझैँ चाहिएका बेला कति किनिएका खोप प्रयोग हुन सकेनन्।
त्यसबीचमा भाइरस फैलिरह्यो र उत्परिवर्तित भइरह्यो। डा. क्योबुटुङ्गीले त्यसैले छिटो काम गर्नु महत्त्वपूर्ण हुने बताइन्। “अर्को वर्षको अन्त्यसम्ममा खोप लगाउनका लागि पर्खेर बस्नु अर्थहीन छ।”
यदि खोपमाथि हाबी हुने भेरिअन्टहरू देखा परे भने हामी त्यही पुरानै अवस्थामा फर्कन्छौँ। उपाय भनेको संसारभर खोपको आपूर्ति बढाउनु नै रहेको धेरैले ठान्छन्।
उनीहरूले उच्च अनुकूलन क्षमता भएको आरएनए खोप बनाउने उपाय धेरै उत्पादकहरूसँग साट्नुपर्ने मत राख्दै आएका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ त्यसमा सहमतजस्तो देखिन्छ।
शुक्रवार डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयसस दक्षिण अफ्रिकामा आफ्नो सङ्गठनले सघाएको स्थानीय पहलको एमआरएनए खोप उत्पादन परियोजनामा पुगेका थिए।
वैज्ञानिकहरूले त्यहाँ मोडेर्ना खोपको नमुना सफलतापूर्वक तयार पारेका छन्। अहिलेसम्म फाइजरले आफ्नो प्रविधि र ज्ञान बाँड्ने कुरासँग असहमत देखिन्छ।
उसको साझेदार बायोएनटेकमाथि ब्रिटिश मेडिकल जर्नलमा दक्षिण अफ्रिकी प्रयासलाई विफल पार्न खोजेको आरोप लगाउँदै एक लेख छापिएको छ।
बायोएनटेनलाई ती आरोपबारे सोधिएको प्रश्नमा बीबीसीले अहिलेसम्म जवाफ पाएको छैन। सबैभन्दा महङ्गा खोपहरू भईकन पनि फाइजर बायोएनटेक सबैभन्दा धेरै दान गरिएका खोप बनेका छन्।
वैज्ञानिक समीक्षा गर्ने कम्पनी एर्फिनिटीका अनुसार ती धेरै खोप दान अमेरिका र युरोपेली सङ्घबाट भएका छन् जसले ती कम्पनीबाट खोप किनेका थिए। एर्फिनिटीको हिसाबकिताब अनुसार दानबाट फाइजरको आम्दानी २.४ अर्ब डलर र मोडेर्नाको २.१ अर्ब डलर हुनसक्छ।
अहिलेसम्म आस्ट्राजेनेकाले आफ्नो खोप लागत मूल्यमै बेचेको छ। मोडेर्नाले उक्त आँकडा पुष्टि गर्ने बीबीसीको आग्रहलाई जवाफ दिएन।
फाइजरले उक्त हिसाबकिताबलाई ‘गलत र अनुमानित’ भन्दै उसले अमेरिकी सरकारसँगको एउटा समझदारीमा एक अर्ब मात्रा मुनाफा नकमाउने गरी बेच्न मानेको जनाएको छ। बीबीसी