कूटनीतिले रुस-युक्रेन युद्ध रोक्न सक्छ ?

युक्रेनमा बृहत् युद्धको सम्भावनाबारे सोच्नु भयङ्कर कुरा हो। यदि रुसले हमला गर्ने हो भने हजारौँले ज्यान गुमाउन सक्छन् र धेरै शरणार्थी जान सक्छन्।
आर्थिक रूपमा गम्भीर मूल्य चुकाउनु पर्नेछ भने मानवीय मूल्य भयङ्कर हुने छ।


तर पनि रुसले युक्रेन वरपर फौजहरू वृद्धि गरिरहेको छ र उसले एक कदम मात्रै युक्रेन तर्फको सीमामा अगाडि पाइला चाले गम्भीर परिणामहरू भोग्नुपर्ने धम्की पश्चिमा देशहरूले दिइरहेका छन्।
त्यसो भए यो मुठभेडबाट छुटकारा पाउने शान्तिपूर्ण र टिकाउ खालको कुनै कूटनीतिक बाटो छ?
कूटनीतिज्ञहरूले “भिन्न बाटो” बारे कुरा गरिरहेका छन् जसमा सबै पक्ष युद्धको बाटोबाट पार पाउन सकून्। तर त्यस्तो बाटो पहिल्याउन सहज छैन।
कुनै पनि सम्झौताका लागि मूल्य चुकाउनुपर्छ। यसमा भने केही सम्भावित मार्गहरू छन् जसमा सेना सामेल हुँदैन र रक्तपात पनि हुँदैन।
यो परिदृश्यमा पश्चिमा शक्तिहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदाभन्दा बढी उनले मूल्य चुकाउनुपर्छ भनेर आश्वस्त पारी हमलालाई रोक्न सक्छन्।
युद्ध मैदानमा सैन्य सफलता हासिल गरे पनि युद्धले निम्त्याउने मानवीय मूल्य, आर्थिक प्रतिबन्ध र कूटनीतिक धक्का खराब हुनेछ भनेर उनलाई मनाउन सकिन्छ।
पश्चिमाले युक्रेनमा सैन्य विद्रोहलाई समर्थन गर्न सक्नेछ र त्यसले वर्षौँका लागि मूल्य चुकाउन सक्नेछ भनेर उनी त्रसित हुनुपर्नेछ।
यसले उनको घरेलु समर्थन घटाउनेछ र त्यसले नेतृत्वलाई नै खतरामा पार्नेछ भनेर उनले विश्वास गर्नुपर्छ।
पुटिनले अन्ततः पश्चिमाको ध्यान आफूमाथि परेको र नेताहरूले आफ्ना “वैध सुरक्षा चासोहरू” को सम्बोधन गरेको दाबी गर्न सक्नेछन्।
तर समस्या के छ भने पुटिन नेटोलाई कम आँकेर युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन्।
उनले अब पछाडि फर्किने थोरै मात्रै कारणहरू छन्।
युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता, नेटोसँग सदस्यता खोज्ने अधिकारजस्ता मुख्य सिद्धान्तहरूमा सम्झौता नगर्ने भनेर पश्चिमा शक्तिले स्पष्ट पारिसकेका छन्।
तर अमेरिका र नेटोले बृहत् युरोपेली सुरक्षा मुद्दाहरूबारे साझा धरातल भेटिनसक्ने बताएका छन्।
यसमा दुवै पक्षतर्फ क्षेप्यास्त्र सङ्ख्या घटाउनका लागि हतियार नियन्त्रणसम्बन्धी सम्झौता ब्यूँताउने विषय, सैन्य अभ्यास पारदर्शी बनाउने विषय र क्षेप्यास्त्रको स्थान तथा उपग्रहविरोधी हतियार परीक्षण गर्नेबारे सहकार्य पर्नसक्छ।
रुसले भने यसअघि नै युक्रेन नेटोमा जोडिन नहुने भन्ने आफ्नो मुख्य चासोलाई सन्तुष्ट पार्न यी मुद्दाहरू पर्याप्त नहुने स्पष्ट पारिसकेको छ।
तर यदि नेटोको क्षेप्यास्त्र परिचालन उल्लेख्य रुपमा घटाइयो भने त्यसले रुसका केही चासोहरूलाई सम्बोधन गर्नसक्छ।
केही तरिकाले पुटिनले जीत हासिल गरिसकेका छन् र रुसी सर्तमा युरोप सुरक्षा सम्वादमा सामेल भएको छ।
सम्झौताहरूको यो प्याकेजबारे वार्ता सन् २०१४ र २०१५ मा बेलारुसको राजधानी मिन्स्कमा भएको हो।
उक्त सम्झौता पूर्वी युक्रेनमा रहेका रुस समर्थित विद्रोही र सुरक्षा फौजबीचको युद्ध अन्त्यका लागि बनाइएको थियो।
त्यो पक्कै पनि विफल भयो र लडाइँ जारी रह्यो। तर त्यसले कम्तीमा युद्धविरामका लागि मार्ग तय गर्यो।
पश्चिमा राजनीतिज्ञहरूले अहिलेको सङ्कट समाधानका लागि मिन्स्क सहमति ब्युँताउन सकिने बताएका छन्।
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले मिन्स्क नै “शान्ति निर्माण गर्ने एउटै बाटो भएको” बताएका छन्।
समस्या भनेको सहमतिका प्रावधानहरू विवादास्पद र जटिल छन्।
क्रेम्लिनले रुस समर्थित राजनीतिज्ञहरूलाई सशक्त बनाउन युक्रेनले स्थानीय चुनाव गर्नुपर्ने माग गरेको छ।
कियभले भने मस्कोले पहिला निःशस्त्रीकरण गर्नुपर्ने र रुसी लडाकुलाई हटाउनुपर्ने बताएको छ।
फ्रान्सका अधिकारीहरूले युक्रेनलाई फिनल्यान्डको नमुना अपनाउन सक्ने सुझाएका विवरणहरू आएका छन्। (तर त्यसलाई उनीहरूले अस्वीकार गरेका छन्।)
शीतयुद्धका बेला फिनल्यान्डले औपचारिक तटस्थताको नीति लिएको थियो।
फिनल्यान्ड एउटा स्वतन्त्र, सार्वभौम र प्रजातान्त्रिक राष्ट्र थियो। यो नेटोबाहिरै थियो र बाहिर नै छ।
कियभका लागि यो नीति आकर्षक हुनसक्छ।
यसले सैन्य परिणामहरूबाट पार पाउन सक्छ। सैद्धान्तिक रूपमा त्यसले युक्रेन नेटोमा नजोडियोस् भन्ने पुटिनको आकाङ्क्षालाई सन्तुष्ट पनि पार्न सक्छ।
र नेटोले पनि आफ्नो “ढोका खुल्ला” नीतिमा सम्झौता गर्नुपर्ने छैन। युक्रेनले नेटोमा नजोडिने आफ्नो सार्वभौम इच्छा तय गर्न सक्छ।
तर युक्रेनले यसलाई समर्थन गर्ला? सम्भवतः गर्दैन किनभने तटस्थताले युक्रेनलाई रुसी प्रभावमा पर्न खुला राख्छ।
तटस्थताले युरोपेली सङ्घको सदस्यतालाई अझै टाढा पुर्याइदिन पनि सक्छ।
अहिलेको मुठभेड लम्बिने तर समयसँगै यसको तीव्रता घट्दै जाने सम्भावना छ?
रुसले आफ्ना अभ्यास सकिएको घोषणा गरेर बिस्तारै आफ्ना फौजलाई ब्यारेकमा फिर्ता ल्याउन सक्छ। तर सैन्य हतियार त्यहीँ छोड्न पनि सक्छ।
रुसले डोनबासमा रहेका विद्रोही फौजलाई गर्दै आएको समर्थन जारी राख्न सक्छ। र यी सबै भइरहँदा रुसको निरन्तरको धम्कीले युक्रेनको राजनीति र अर्थतन्त्र अस्थिर बन्दै जान सक्नेछ।
बदलामा नेटोले पूर्वी युरोपमा आफ्नो सुदृढ उपस्थिति व्यवस्थित गर्नेछ।
उसका राजनीतिज्ञ र कूटनीतिज्ञले रुसी समकक्षीहरूसँग बेलाबेला छलफल गर्नेछन्। वार्ता जारी रहे पनि थोरै मात्रै प्रगतिहरू हुनेछन्।
युक्रेनको सङ्घर्ष जारी रहनेछ। तर कम्तीमा पूर्ण स्तरको युद्ध भने हुनेछैन।
र बिस्तारै मुठभेडका समाचार शीर्षकहरू धमिलो बन्दै जानेछन् र आम मानिसको ध्यानबाट चिसो द्वन्द्वको उनीहरूको शृङ्खलामा जोडिन पुग्नेछ।
यी कुनै पनि विकल्प सहज छैन र हुने पनि देखिँदैन। यी सबै विकल्पका लागि सम्झौता हुनुपर्नेछ।
कियभमा भएको त्रास भनेको युक्रेनले सबैभन्दा बढी सम्झौता गर्नुपर्नेछ भन्ने हो।
अहिलेको एउटा आशा भनेको सबै पक्षहरू वार्ता गर्न इच्छुक छन् भन्ने हो।
र मानिसहरू जति लामो समयसम्म कुरा गरिरहन्छन्, समाधान हुने कूटनीतिक बाटो त्यति बेलासम्म खुला रहन्छ, चाहे त्यो आधा खुला नै किन नहोस्। बीबीसी