जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड कहिले ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि माघ २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओको बाँडफाँड अर्को साताभित्र सम्पन्न गर्ने तयारी भएको छ ।



आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको छ । डाटा भेरिफिकेसनको काम सकिएपछि प्रीअलोटमेन्ट सम्पन्न गरी बाँडफाँडको मिति तोकिनेछ ।



संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ ।



बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे । संस्थाको आईपीओमा परेको आवेदनले नयाँ रेकर्ड कायम गरेको थियो । अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ६६ गुणा धेरै हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ ।