अन्तराष्ट्रिय

युक्रेन तनाव: रुसमाथि समुद्री पहुँचमा अवरोध पुर्‍याएको आरोप

युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्‍याएको आरोप लगाएको छ।

उक्त क्षेत्रमा बढ्दो तनावमाझ अर्को साता रुसी नौसेनाले एउटा सैन्य अभ्यास गर्न लागेका बेला युक्रेनका विदेशमन्त्रीले त्यस्तो आरोप लगाएका हुन्।

विदेशमन्त्री दिमेत्रो कुलेबाले सी अफ एजोफ पूरै अवरूद्ध पारिएको र ब्याक सीको बाटो समेत लगभग पूरै जस्तो विच्छेद गरिएको बताएका छन्।

त्यस क्षेत्रमा तनाव चुलिएका बेला रुसी सैन्य अभ्यासले समुद्रमा आउजाउ ‘व्यवहारिक रूपमा असम्भव’ भएको युक्रेनले जनाएको छ।

युक्रेनतर्फका सीमामा एक लाखभन्दा धेरै रुसी सैनिक तैनाथ गरिए पनि युक्रेनमा हमलाको योजना बनाएको भन्ने पश्चिमा आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ।

तर रुसले यसै साता छिमेकी बेलारुससँग एउटा ठूलो सैन्य अभ्यास सुरु गरेको छ।  बेलारुस रुसको निकट साझेदार हो र उसको युक्रेनसँग लामो सीमा जोडिएको छ।

शीतयुद्धयता पहिलोपटक रुसले बेलारुसमा त्यति धेरै सेना पठाएको भन्दै फ्रान्सले त्यसबाट हिंसात्मक सन्देश दिन खोजिएको जनाएको छ। युक्रेनले त्यसलाई आफूमाथि रुसले “मनोवैज्ञानिक दबाब दिन खोजेको” बताएको छ।

रुसी हमला हुनसक्ने भन्दै तीन बाल्टिक देशहरूले नेटोलाई पूर्वी युरोपमा सैन्य सहायता बढाउन आग्रह गरेका छन्। इस्टोनिया र लाट्भियाका प्रधानमन्त्री तथा लिथुआनियाका राष्ट्रपति यतिखेर जर्मन चान्सलर ओलाफ सोल्जसँग छलफलका लागि बर्लिनमा छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन्। उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको जनाएका छन्।

बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सैना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले अवस्था छिट्टै भयानक हुनसक्ने बताए। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button