
१
बहिनीलाई भिन्न जातको केटासँग देखेपछि फन्किँदै गएर घरको छतमा उभिएका गिरिले बहिनीको आगमनको चाल पाएपछि उनीतिर नहेरी सोधे, “कती भयो ? के देखिस् उसमा त्यस्तो जसको लागि तैंले जात कुलको समेत पर्वाह गरिनस् ? ”
“मैले हजुरको मन दुखाएँ । मलाई क्षमा गर्नु दाइ । तर यो हजुरकै प्रेरणाले हो”, कल्पनाले बिस्तारै भनिन्, “दाइ, हजुरले विद्यालयमा पढाउँदा भन्हुन्थ्यो नि, संसारमा जात धर्म भूगोल संस्कृति मान्छेले बनाएका हुन् । माया, प्रेम, दया, करुणा ईश्वर सँगसँगै उत्पति भएका हुन् । मैले त्यही पाठलाई गुरुमन्त्र बनाएकी हुँ । हजुरले नै भन्नुभएको हैन ठूलो हैन असल रोज, भनेर ? विकास असल छ, दाइ । ऊ सक्षम पनि छ । ”


गिरीले बहिनीलाई सोधे, “भन् नानी, विकास र परिवारमा एकलाई रोज्नु परेमा तँ के रोज्छेस् ? ”
कल्पनाले रुँदै भनिन्, “ईनारको डोरी”,
२
“तिमीले मसँग के को बदला लिँदैछौ, भाइ ? ” विकासलाई अगाडि देखेर गिरिले सोधे।
हजुरले नवराज बिक हत्याकाण्डको खुलेर बिरोध गर्नुभयो । यो कुरा मेरो मनमा भगवान वाणी बनेर रह्यो, दाइ । फेरि सानैदेखि हजुरको परिवारको दायाँ रहने, हजुरबाट दीक्षित हुने पनि सौभाग्य मिल्यो । हजुर नै मेरो आदर्श हुनुहुन्छ भने म हजुरले देखाएको बाटोमा हिड्न किन पछि हट्ने, दाइ ?” विकासले भने, “बरु म अर्को नवराज बन्न राजी छु । ”
“तर म छैन ” गिरिले भने, “तिमीहरूले नबुझेको पाठ यहि हो । परिवर्तन आवस्यक छ तर एक्कासी हैन । क्रमश । हिजो श्रम र सीप चल्थ्यो । आज पानी, भान्छा र रगत चल्नुपर्छ । भोलि तिम्रो छोराले….मेरो नातिले…..
“रातपछि दिन आउनलाई सूर्य उदाउनु पर्छ । तर, छ बजे मध्यान्ह हुँदैन भाइ । सात, आठ, नौ, बज्न दिनुपर्छ । जबरजस्ती बाह्र बजाए घडी बिग्रिन्छ । आऊ, तिमी र म मिलेर समयलाई सेकेण्ड सेकेण्ड गर्दै बदलिन दिऔ ।” विकास केही बोलेनन् उनले घडी हेरे ।
त्यहाँ समय थिएन । थियो त एउटा सुन्दर छायाचित्र – जसमा उनको नाती र कल्पनाकी नातिनीको बिहेको दिन बुढा सम्धी (आफू) जुँगामा ताउ लगाउँदै पन्चे बाजामा नाचिरहेका थिए । उता गिरि दाइको घडी समय साक्षी राखेर चलिरहेको थियो ।