No Image Headlineदेश

सभामुखलाई महाअभियोग लगाउन मिल्छ कि मिल्दैन ? यस्तो छ संवैधानिक व्यवस्था

संसदको प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने माग राखी कैयौँ दिनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

अहिले एमसीसी प्रस्ताव रोकिँदा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका नेताले समेत सभामुखलाई हटाउनुपर्ने माग गर्न थालेका छन् ।

केहीले त सभामुखविरुद्ध महाअभियोग प्रस्ताव लैजानुपर्ने मागसमेत गरेका छन् ।

के अहिलेको अवस्थामा सभामुखलाई हटाउन सम्भव छ ? सभामुखविरुद्ध महाअभियोग प्रस्ताव संसदमा लैजान मिल्छ ?

संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख र उपसभामुखको पद रिक्त रहनेसम्बन्धी व्यवस्था छ । जसअनुसार निज प्रतिनिधिसभाको सदस्य नरहेमा, निजले लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था छ ।

संविधानमा सभामुखलाई महाअभियोग लगाउने व्यवस्था गरिएको छैन । तर, पदअनुकुल आचरण नगरेको प्रस्ताव दर्ता गराउन सकिने व्यवस्था छ । प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित भएमा पदमुक्त हुने व्यवस्था छ ।

तर, यस्तो प्रस्तावका लागि कति सदस्यको हस्ताक्षर चाहने हो, यसबारेमा स्पष्ट व्यवस्था संविधानमा छैन । संविधानको धारा १०१ आकर्षित हुनेको हकमा भने एक चौथाई सदस्य संख्या तोकिएको छ ।

अतः संविधानमा सभामुखलाई महाअभियोग लागाउने व्यवस्था छैन । संविधानत: सभामुखलाई यो प्रक्रियाबाट हटाउन मिल्दैन ।

एमसीसी प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख सापकोटा विवादमा तानिएका छन् ।

सरकारको चाहनाअनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न नमानेपछि उनी विवादमा तानिएका हुन् । त्यसो त अघिल्लो केपीशर्मा ओली नेतृत्वको सरकारको पालामा पनि उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न मानेका थिएनन् ।

लोकतान्त्रिक तथा संसदीय व्यवस्थाको मूल्य मान्यताभन्दा पनि आफ्नो इच्छाअनुसार संसद चलाउन खोजेको आरोप सापकोटामाथि लागेको छ ।

सापकोटा नेपाल कम्युनिस्ट पार्टी विभाजन नहुँदै सोही पार्टीको प्रस्तावमा सभामुख भएका थिए । पार्टी एकीकरण हुनुअघि उनी नेकपा माओवादी केन्द्रमा आवद्ध थिए । अदालतको आदेश पश्चात् एमाले र माओवादी अलग भएका थिए ।

अहिले माओवादी एमसीसी प्रस्ताव संसदमा टेवल नगर्ने पक्षमा उभिएको छ, जसले सत्तारुढ गठबन्धनभित्र फाटोसमेत ल्याएको छ ।

सभामुख सापकोटाले माओवादीको इच्छाअनुसार संसदमा एमसीसी प्रस्ताव टेवल गर्न आनकानी गरेको सत्तारुढ गठबन्धनकै नेताहरूले बताउँदै आएका छन् ।

सभामुख सापकोटाकै कारण अहिले एमसीसी प्रस्ताव संसदमा टेवल हुन सकेको छैन । एमसीसी प्रस्ताव संसदमा टेवल हुन नसके के हुन्छ भन्नेमा अहिले धेरैको चासो देखिन्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button