जनकपुर-जयनगर रेल : फागुन ११ गते उद्घाटनको तयारी, बर्दिबाससम्म कहिले आउँछ ?

फागुन १ गतेदेखि जनकपुरदेखि जयनगरसम्म रेल चल्ने भएको छ।



रेल सेवाको औपचारिक उदघाटनको मिति तय भएको छैन। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ। फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ।



अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।



यात्रु नबोकी फागुन १ देखि दिनमा एकपटक रेल चलाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिनेछ।
उनकाअनुसार जयनगरदेखि जनकपुर उपमहानगरस्थित कुर्थासम्म रेल सञ्चालन गर्न लागिएको हो।अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, संचार सुविधा लगायतका व्यवस्थापन भइरहेको पनि उनले बताए।
‘ट्रयाक क्लियर हुन सकेको छैन। ठाउँ–ठाउँमा हाट बजार लागिरहेको छ, टहरा बनाइएको छ। रेलको प्राविधिक अवस्था कस्तो छ भन्ने बुझ्न पनि अहिले यात्रु नराखी रेल चलाउन खोजेका हौं,’ उनले भने।
भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन्।
भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक तयार पार्दैछ। ३ चरणमा निर्माण कार्य भइरहेको छ।
पहिलो चरणमा जयनगर–कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ।
तीमध्ये जयनगर–कुर्थासम्म ३६ किमी ब्रोडगेज तीन वर्षअघि नै तयार भइसकेको छ। बाँकी खण्डमा पनि लिक निर्माण तीव्र गतिमा भइरहेको छ।