कोरोना महामारीमा नेपाल : संक्रमणको पछिल्लो संख्याले के संकेत गर्दछ ?

पुसको अन्तिम सातादेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्या यो सातादेखि ओरालो लाग्न थालेको देखिन्छ।



विज्ञहरूले यस पटक अस्पतालमा भर्ना हुने सङ्क्रमितहरूको सङ्ख्या विगतको तुलनामा कम भएको बताउँदै एकाध हप्तामा अवस्था सामान्य बन्न सक्ने जनाएका छन्।



कोभिडको बढ्दो सङ्क्रमणका कारण माघको सुरुमा अवरुद्ध भएका कतिपय परीक्षाहरू फाल्गुन महिनाको पहिलो साताबाट सुरु गर्ने त्रिभुवन विश्वविद्यालयले बताएको छ।



तर पछिल्ला दिनहरूमा दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको तथा पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम बढेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।
केही दिनअघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो। अहिलेको वृद्धिसँगै देशभरि पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ५६,४५७ रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
इपिडिमिओलोजि तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौड्यालका अनुसार पछिल्लो समयमा परीक्षण गरिएका नमुनामध्ये ३० देखि ४० प्रतिशतमा सङ्क्रमण पुष्टि भइरहेको छ।
उनले भने, “पुस मसान्तदेखि तीव्र दरमा सङ्क्रमण बढिरहेको थियो। यो बीचमा कुनै बेलामा परीक्षण गरिएका मध्ये ५२ प्रतिशतसम्म नमुना पोजिटिभ रहेको पाइएको थियो। अहिले जति परीक्षण गरिएको छ त्यसमध्ये ३० देखि ४० प्रतिशतमा सङ्क्रमण पाइएको छ।”
सङ्क्रमण घटिरहेको जस्तो देखिएको भए पनि अझै केही साता हेरेर मात्रै अवस्था कता जान्छ भन्न सकिने उनले बताए।
सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ डा. शेरबहादुर पुनले स्वास्थ्य निकायहरूले भन्नुभन्दा पहिला नै ओमिक्रोन समुदाय स्तरमा पुगेको उल्लेख गर्दै अब सङ्क्रमण ओरालो लाग्न थालेको बताए।
उनले भने, “यो अब ओरालो लाग्छ। अब फेरि १२ हजार नाघ्ने सम्भावना म देख्दिनँ। किनभने धेरै जनालाई सङ्क्रमण भइसक्यो।”
डा. पुनले सामान्य रुघाखोकीजस्तो लक्षण भएकाले समुदायमा सङ्क्रमण देखा पर्दा समेत धेरै जना व्यक्तिहरू झुकिएको र अस्पताल नगएको बताए।
अहिले पनि धेरै जना सङ्क्रमितहरू घरमै बसिरहेको अवस्था रहेको उनको भनाइ छ। ओमिक्रोन भेरिअन्ट अघिल्लो भेरिअन्ट भन्दा छिटो निको हुने भन्दै आगामी हप्ताबाट सङ्क्रमणको विस्तार अझ कमजोर बन्न सक्ने उनले टिप्पणी गरे।
स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरिअन्टले दीर्घरोगी र खोप नलगाएका व्यक्तिहरूलाई जोखिममा पारेको भन्दै खोप लगाउन सबैसँग अपील गरेका छन्। सरकारी निकायले महामारी उत्कर्षमा पुग्दा एकैदिन २०,००० जनासम्म सङ्क्रमित भेटिने अनुमान गरेको थियो। बीबीसीको रिपोर्टमा आधारित