प्र्याङ्क भिडियो सामाजिक सञ्जालमा राखे जेल र जरिवाना
पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न खालका भिडियो देख्न सकिन्छ। कतिपय भिडियो परिवारसँग बसेर हेर्नसम्म सकिँदैन भने कतिपय भिडियो सार्वजनिक सरोकारका विषयमा भन्दा निजी कुराकानीमा केन्द्रित हुन्छन्। जसले व्यक्तिको चरित्रमाथि प्रश्न उठाइरहेको हुन्छ। सामाजिक सञ्जालमा यसरी सार्वजनिक हुने भिडियोले व्यक्तिको मानमर्दन गरेको भन्दै उजुरी परेपछि यो विषयमा गृहमन्त्रालयले कडाई गर्ने भएको हो।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालये कसैलाई प्र्यांक अर्थात् सताउने भिडियो बनाए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
व्यक्तिलाई सताउने भिडियो बनाएर युट्युबलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई अब प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा कारबाही गर्नेछ।
नेपाल प्रहरीले ख्यालठट्टाका नाममा भिडियो बनाएर सर्वसाधारणलाई मानसिक तथा शारीरिक रूपमा हैरानी दिनेलाई मुलुकी संहिता अनुसार कानुनी कारबाही गर्नेछ। प्रहरी कारबाहीमा दोषी ठहर भए ती व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
संहिताको दफा ११८ मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । कसैले कसुर गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’
बिहीबार गृह मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिनेलाई कानुन अनुसार कारबाही गर्ने प्रष्ट उल्लेख गरिएको छ। यो विषयमा विज्ञप्तिमार्फत् गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।