No Image Headlineदेशमुख्य खबरस्वास्थ्य/जिवनशैली

कोरोना महामारी : कोरोना भाइरस कति दिनमा निस्क्रिय हुन्छ ?

Thrill Factory
Rungta Group

पुसको अन्तिम सातादेखि नेपालमा प्रत्येक दिन धेरैमा कोभिड १९ पुष्टि भइरहेको छ।

कोभिड संक्रमण बढेसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार पाँच सय नाघेको छ। तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका तीन जिल्लामा छन्।

अहिले कुल परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइने दर झन्डै ३७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिले आईसीयूमा २५७ जना र भेन्टिलेटरमा ४९ जना बिरामी भएको मन्त्रालयले जनाएको छ। अहिले सङ्क्रमण देखिएका अधिकांश व्यक्ति २१ देखि ४० वर्ष उमेर समूहका छन्।

वीर अस्पतालस्थित कोभिडसम्बन्धी फोकल पर्सन डा अच्युत कार्कीका अनुसार अहिले अस्पताल भर्ना भएका व्यक्तिमध्ये ८० देखि ९० प्रतिशत गम्भीर लक्षण भएकाहरू छन्।

उनका अनुसार मध्यम खालका बिरामीहरू पाँचदेखि सात दिनभित्र अस्पतालबाट घर फर्कने गरेका छन् भने गम्भीर अवस्थाका बिरामीहरूले दुई हप्ता वा त्यो भन्दा लामो समय उपचार गराउनुपरेको अवस्था छ।

उच्च ज्वरो, अक्सिजनको मात्रामा कमी र अरू गम्भीर खालका लक्षणहरू देखिएका कारण अरू अस्पतालले पठाएका बिरामीहरू वीर अस्पतालमा आएका उनले बताए।

पछिल्लो समय ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भएका व्यक्तिहरू चाँडै सङ्क्रमणमुक्त भइरहेको अनुभव पनि चिकित्सकहरू सुनाउँछन्।

डा कार्कीले थपे, हामीले उपचारका मापदण्ड अनुसार हेर्दा घरमै आइसोलेशनमा बस्नेहरू पाँचदेखि सात दिनमा नेगेटिभ आएको पाएका छौँ। तर नेगेटिभ नआए पनि सात दिनमा भाइरस निष्क्रिय हुन्छ।

त्यही भएर परीक्षण नै गराउनुपर्छ भन्ने जरुरी छैन। तर लक्षण गइरहेको छैन भने परीक्षण गराउनु वा चिकित्सक सल्लाह लिनु उपयुक्त हुन्छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।

सामान्य लक्षण देखिएका मानिसहरू परीक्षण गर्न नगएकाले सङ्क्रमितको सङ्ख्या तथ्याङ्कले देखाएभन्दा निकै बढी भएको विज्ञहरू बताउँछन्।

हालसम्म नेपालमा ११,६८७ जनाको कोभिडका कारण मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले गएको वैशाख महिनामा देखापरेको डेल्टा भेरिअन्टको लहरको तुलनामा यसपालि सघन उपचार कक्षमा भर्ना हुने दर चार गुणाभन्दा कम रहेको बताएको छ।

साथै भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको सङ्ख्या पाँच गुणाभन्दा कम रहेको मन्त्रालयले जनाएको छ। तर अझै पनि सङ्क्रमणको जोखिम उच्च नै रहेकाले चनाखो हुनुपर्ने स्थिति रहेको मन्त्रालयको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button